१२ असार, चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्ड ११ घन्टापछि खुलेको छ । उक्त सडक खण्डमा पर्ने नाम्ची खोलामा आज बिहान पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको थियो ।
बिहान ५ः२० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३ः५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
ठेकेदारले पहिलेकै पहिरो पन्छ्याएको रकम भुक्तानी नपाएको भन्दै पहिरो नपन्छ्याए पछि सडक खुलाउन ढिला भएको थियो । पहिरो पन्छाउन बिहान ८ः३० बजेबाट दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरिएको थियो । मुग्लिनबाट ३.४ किलोमिटर नारायणगढतर्फ नाम्ची खोला पर्दछ ।
सो ठाउँमा गतवर्ष तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा संसदीय टोलीले निरीक्षण गरेकै दिन पनि पहिरो खसेको थियो । त्यसपश्चात् पुनः आज बिहान पहिरो खसेको हो ।
दुई दिनदेखि सो सडकखण्डका ठाउँठाउँमा सानातिना पहिरो खस्दा सडक अवरुद्ध हुने र खुल्ने हुँदै आएको थियो । बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुले हैरानी व्यहोरेका छन् ।
गन्तव्यका लागि हिँडेका यात्रुहरूको विचल्ली भएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बताउँछन् । खतिवडा पनि पहिरोका कारण अलपत्र परेका थिए । रासस


प्रतिक्रिया