१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पटिहानीमा ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ निर्माण सुरु



 

नारायण अधिकारी
मङ्सिर १०, चितवन ।

सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्येको महत्वपूर्ण गन्तव्य पटिहानीमा सूर्यास्त दृश्यावलोकन सहित पर्यटक रमाउनका लागि सप्तरङ्गी छाता राख्ने ठाउँ निर्माणको काम शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ ले ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ निर्माणको काम सुरु गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारको घडगाईमा छ कठ्ठा जग्गामा २ करोड ५० लाखको लागतमा उक्त काम थालिएको हो । वडा अध्यक्ष विष्णुराज महतोका अनुसार सूर्यास्त अवलोकनका लागि तीन तह निर्माण गरिएको छ । एक सय २० मिटर लामो सडक निर्माण गरी त्यसमाथि चार सय ५० फाइवरका सप्तरङ्गी छाताहरू राखिने छ । छातामुनिबाट पर्यटकहरू हिँड्न तथा बस्न मिल्ने भएकोले पनि यसको नाम ‘अम्ब्रेला स्ट्रीट’ राखिएको हो ।

पर्यटकको सुविधाका लागि यहाँ दृश्यावलोकन केन्द्र, रेष्टुरेन्ट, डेटिङ प्वाइन्ट, सेल्फीगेट, पार्किङ, महिला तथा अपाङ्गमैत्री शौचालय रहने छन् । महतोले आफूले मरिसस भ्रमणका क्रममा पर्यटकलाई आकर्षण गर्नेगरी त्यहाँ निर्माण गरिएका संरचना देखेकोले त्यस्तै प्रकारको निर्माण यहाँ गर्न लागेको बताए । आगामी आर्थिक वर्षसँगै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । यहाँ आउने पर्यटकले सँगै राप्ती छेउमा चर्न आउने गैँडा, चित्तल, गोही जस्ता जनावर प्रत्यक्ष्यरूपमा देख्न पाउनेछन् । साथै साँझको समयमा सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्नसक्ने उनले बताए ।

चितवन भित्रिने पर्यटकलाई एकपटक पटिहानी पुग्नैपर्छ भन्ने सोच बनाउन नयाँ गतिविधि सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । यस क्षेत्रका प्रदेश सांसद रामलाल महतोले यो संरचना निर्माण सँगै पर्यटकको सङ्ख्या बढ्ने वताए । सङ्घीय सरकारले एक सय गन्तव्यभित्र पारेको यस क्षेत्रको पर्यटन प्रवर्धनमा यसले थप टेवा पुग्ने उनको भनाइ छ । नेपालमै पहिलोपटक नयाँ अभ्यास भएको भन्दै उनले विश्व पर्यटन बजारमा देखिएका नयाँ कुराको सिको गर्नु आफैँमा महत्वपूर्ण भएको बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा र नजिकै रहेको राष्ट्रिय निकुञ्जको कार्यालय तथा मेघौलीको मध्यभागमा पर्ने भएकोले पटिहानी उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताइन् । थारु, बोटे, मगर जस्ता समुदायको सांस्कृतिक थलो भएकोले यहाँका समुदायको जीवनस्तर उकास्न पनि सहयोग पुग्ने उनले बताइन् । यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि महानगर लागि परेको उनले जानकारी दिइन् ।

क्षेत्रीय होटल सङ्घ पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश शर्मा पौडेलका अनुसार पटिहानी क्षेत्रमा छ वटा ठूला र १० वटा साना होटलहरू रहेका छन् । चितवनको दोस्रो पर्यटकीय गन्तव्यको रूपमा यस क्षेत्रलाई चिनिँदै आएको छ । यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल परियोजना, गिद्ध प्रजनन केन्द्र अवलोकन गर्नसक्ने उनले बताए । नयाँ संरचनाहरूको निर्माणसँगै पटिहानी क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने उनले बताए ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ००:००