२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पितृको स्मरणमा अक्करे भीरमा पदमार्ग निर्माण



 

कात्तिक २८, गलेश्वर । आफ्ना पितृको स्मरणमा सन्तानले सप्ताह पुराण लगाउँछन् । दान दिन्छन् र भोज खुवाउने पनि गर्दछन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका स्थानीयवासीले भने पर्यटकीयस्थल खोप्रालेकसम्म पुग्ने अक्करे भीरमा पदमार्ग निर्माण गरेर आफ्ना पितृको स्मरण गरेका छन् ।

आफ्नै थाँतथलोमा ज्यान गुमाएका पितृप्रति सम्मान मात्र व्यक्त गरेका छैनन्, सिँढीसहितको पदमार्ग निर्माण गरेर खोप्रासम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पनि प्रदान गरेका छन् । पाउद्धारवासीले आफ्नै लगानीमा ८ किमी पदमार्ग निमार्ण गरेका हुन् । पाउद्धारदेखि पर्यटकीयस्थल खोप्रालेक सम्म पुग्ने पदमार्ग निर्माण भएपछि स्थानीयवासी तथा पर्यटकलाई सुविधा पुगेको पाउद्धारका अगुवा भीमबहादुर पुनले बताए ।

अक्करे भीरमा पदमार्ग मात्र निर्माण गरेका छैनन्, ठाउँठाउँमा खानेपानीको धारासमेत निर्माण गरेका पाउद्धारवासीको सो कार्य आफ्ना पितृको स्मरण गर्नका लागि अत्यन्त अनुकरणीय रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । पदमार्गको ठाउँठाउँमा पानीको धारा निर्माण गरेपछि पर्यटकलाई गाउँबाट नै पानी बोकेर जानुपर्ने समस्याको अन्त्य भएको छ । बाटोमा पानीको धारा बनाउने काम भने स्थानीयवासी माया गर्वुजाले गरेकी हुन् । “मैले आफ्ना पितृको स्मरण गरेर धारा निर्माण गरेकी हुँ” उनले भनिन् ।

“केही वर्ष पहिले आफूले मागेको भाकल पूरा गर्न खयरभारानी जाँदा बाटोमा तिर्खा लाग्दा पानी नपाएर दुःख पाएकी थिएँ,” गर्वुजाले भनिन्, “गाउँको विकासमा केही सहयोग गर्नुपर्छ भनेर आफ्ना पितृको सम्झनामा खोपापारदेखी डेरीबाससम्म खानेपानी ल्याउन सहयोग गरेकी हुँ ।” तीन दर्जनभन्दा बढी घरधुरी रहेको पाउद्धारगाउँका बासिन्दाले आफ्ना पितृको स्मरणमा चौतारो, खानेपानी, पदमार्ग लगायत काम गर्दै आएका छन् ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार ००:००