कात्तिक १८, रसुवा । रसुवागढी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र थुमन गाउँका बासिन्दालाई मोटर यातायातको सुविधा दिन सडक निर्माण गरिएको छ ।
जलविद्युत आयोजना टिमुरेका वातावरणविद् तथा जनसम्पर्क प्रमुख तेज साउदका अनुसार रोङ्गादेखि थुमनसम्म १३ किमी सडक निर्माण अन्तिम चरणमा पुगेको हो ।
एक सय ११ मेगावाट सो जलविद्युत् आयोजनाका प्रभावित क्षेत्र गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका बासिन्दाको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै विशेष कोष स्थापना गरी सडकको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको तथा थोहुतससम्म मिलाउन काम भइरहेको उनले जानकारी दिए । सडक निर्माणसँगै उक्त क्षेत्रका ५०० भन्दा बढी घरपरिवारलाई दैनिक आवतजावतमा सहज हुने भएको छ ।
उक्त गाउँमा स्वास्थ्य उपचारमा सहजता ल्याउन स्वास्थ्य केन्द्रलाई एक नर्स, विद्यालयका लागि दुई शिक्षक समेत व्यवस्था गरिएको र नियमित पूजाआजाका लागि गुम्बा समेत निर्माण गरिएको आयोजनाले जनाएको छ ।
किसानलाई परामर्श सेवा
धुञ्चेमा रहेको चरण तथा घाँसेबाली अनुसन्धान केन्द्रले मासिक रुपमा सयभन्दा बढी किसानलाई पोषणयुक्त घाँसको बारेमा परामर्श दिन शुरु गरेको छ ।
घाँस अनुसन्धानमा लामो समयदेखि परामर्श गरिरहेका प्राविधिक अधिकृत नरेन्द्र शाहका अनुसार अनुसन्धान विशेष गरी हिउँदयाममा हिमाली क्षेत्रमा गरिने गरिन्छ । चौपायाको चरन क्षेत्र हिउँले पुर्ने र घाँसलाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा किसानलाई परामर्श सेवा प्रदान भइरहेको छ । परामर्श लिन यहाँका मासिक १०० देखि १५० किसान आउने गरेका बताइएको छ ।
समुन्द्री सतहदेखि एक हजार ८५० मिटर उचाइ धुञ्चेमा रहेको अनुसन्धान केन्द्रबाट पोषण घाँसको बिरुवा उत्पादन गरी वितरण कार्यसमेत हुने गरेको छ । किसानलार्ई बारीको कान्लामा डालेघाँस अन्तर्गत किम्बु भोटेपीपल, बैंस, चुलेत्रो, टाकीद्वार जस्ता बिरुवा रोप्न र चरन क्षेत्रमा जाई राई सेतो रातो क्लोवर मिश्रण गर्न परामर्श दिइने गरिएको छ ।
रासस




प्रतिक्रिया