७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठबीसकोट नगरपालिकाका ३ विद्यालयमा डिजिटल बोर्डबाट पढाइ



 

असोज १९, रुकुम पश्चिम । आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ ।

उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती मावि र वडा नं ९ राडीको शहीद स्मृति नमूना माविमा हाल डिजिटल बोर्डबाट पढाइ थालिएको हो ।

सञ्चार र आधुनिक प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले हाललाई परीक्षणका रूपमा तीन विद्यालयमा अध्यापन गराउनुका साथै डिजिटल हाजिरीको पनि व्यवस्था गरिएको नगरपालिकाको शिक्षा एकाइ संयोजक थलबीर ओलीले जानकारी दिए ।

उनका अनुसार तीन विद्यालयमा इन्टरनेटको व्यवस्थासहित पाठ्यपुस्तक अनुसार नै डिजिटल बोर्डबाट पढाइ भइरहेको छ । विद्यार्थीलाई आवश्यक पर्ने सामग्री इन्टरनेटबाट खोजेर डिजिटल बोर्डमार्फत जानकारी गराइन्छ ।

हाल प्रत्येक कक्षामा पालोपालो डिजिटल बोर्डमार्फत पठनपाठन भइरहेको यो प्रक्रिया प्रभावकारी भए सबै कक्षा तथा अन्य विद्यालयमा पनि यसलाई विस्तार गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रतिडिजिटल बोर्ड तीन लाख ६० हजारका दरले खरिद गरेको हो ।

डिजिटल बोर्ड जडान गरिएपछि पढाइमा विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । रमाइरमाई पढ्न पाइने भएपछि डिजिटल बोर्ड प्रभावकारी हुँदै गएको सरस्वती माविका शिक्षक दलबहादुर बुढाले बताए ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार ००:००