असोज १७, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंलाई सुन्दर तथा समृद्ध नगर बनाउने योजना अनुरुप विभिन्न काम तीव्र गतिमा अघि बढेको छ ।
काठमाडौं चमती क्षेत्रमा महानगरपालिकाको पहलमा सडकको स्तरोन्नति भइरहेको तथा नयाँ सडकमा स्मार्ट पार्किङको निर्माण तथा विश्व सम्पदा क्षेत्रहरुमा ‘फ्रि वाइफाइ’को व्यवस्था गर्ने पहल गरिरहेको सो महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको सामाजिक, वातावरणीय तथा सम्पदादेखि स्मार्ट सिटीको अवधारणा अनुरुप कार्य गरिरहेको बताए ।
उनकाअनुसार महानगर प्रमुखको पहलबाट वृद्धवृद्धा तथा अपाङ्गका लागि घरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्य भएको तथा नगरपालिकाले उठाउने विभिन्न विषयमा कर छुट दिने गृह कार्य शुरु भएको छ ।
काठमाडौं महानगरपालिका भित्रका कतिपय घरधनीले नक्सा पास नगरिकन घर निर्माण गर्ने प्रवृत्तिलाई न्यूनिकरण गर्न उनीहरूलाई नक्सा पास गर्न मौका दिएको र नक्सा पास गर्न आवेदन दिने घरधनीहरु बढेको सूचना अधिकारी सुरेश किरण मानन्धरले जानकारी दिए ।
काठमाडौंको फोहरको दीर्घकालिन समस्या समाधानका लागि फोहरलाई मोहर बनाउने उपलव्धीमूलक कार्यको अलावा फोहरलाई सही स्थानमा दीर्घकालिन विसर्जन गरेर त्यसबाट प्राङ्गारिक मल बनाउने देखि तथा पुनःप्रयोगको कार्यमा पनि महानगरपालिकाले विशेष ध्यान दिएको उनले बताए ।
रासस



प्रतिक्रिया