८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाडा छोडिएका चौपायाका कारण सर्वसाधारण आजित



 

भदौ २१, बर्दिवास । महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा वस्तुको जगजगी नै भएको छ । घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुवस्तु नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा छाडा छोडने परिपाटीले यहाँ ट्राफिक समस्या बढाएसँगै फोहर समेत थपिएको छ ।

बिहान मिरमिरे उज्यालो हुनासाथै यस्ता पशु पाल्नेले आफ्ना वस्तु फुकाएर बजार, चोकतिर लघार्ने गरेका छन् । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुवस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् ।

“बजार, चोकतिर हिँड्डुल गर्न डरमर्दो भएको छ,” बर्दिवास–१४ की गृहिणी पुनम महतोले भनिन्, “तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।” बर्दिवासमा यिनै छाडा गाई पछ्याउने साँढेले हान्दा गत सात एकजना गम्भीर घाइते भएका थिए ।

त्यो साँढे नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बर्दिवास र छिन्नमस्ता सशस्त्र प्रहरी गणका ५० भन्दा बढी जवान र यस्तै सङ्ख्याका सर्वसाधारणले तीन घण्टाभन्दा बढी प्रयत्न गर्नु परेको थियो ।

गाईबाहेक खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०÷६० को सङ्ख्यामा आँगन आँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भइएको बर्दिवास नगर क्षेत्रका गृहिणीको गुनासो छ ।

छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको बर्दिवास–२ बारनचौडी बस्तीकी गृहिणी सकुन्तला शर्माले गुनासो गरिन् ।

गाई–गोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भए पनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ । “बाबु पुर्खादेखि नै सुँगुर छोइएन,” बर्दिवास–१४ की गृहिणी रुक्मिणी उपाध्यायले भनिन्, “हामी त यो सुँगुर आतङ्कले आजित नै भयौँ ।”

बर्दिवास मात्र नभएर जिल्लाका सबैजसो नगरपालिका क्षेत्रमा छाडा पशु वस्तुका कारण सर्वसाधारण आजित भएका छन् । बर्दिवासबाहेक औरही, गौशाला, रामगोपालपुर, जलेश्वर र मटिहानी नगरपालिका क्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसिरहँदा ससाना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।
रासस

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार ००:००