८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समयमा काम नगरेपछि ठेकेदार कम्पनीको पेश्की फिर्ता प्रक्रिया शुरु



 

साउन २९, म्याग्दी । बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले काममा ढिलासुस्ती गरेपछि महादेव–खिम्ती–ज्वाला–रफीना जेभीको बैंक जमानतबाट असुल हुने गरी पेश्की फिर्ताका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले बेनी अस्पतालको पचास शय्या क्षमताको भवन निर्माणको जिम्मा पाएको थियो ।

पेश्की लगे पनि कार्ययोजना र लक्ष्यअनुसार काम गर्न नसकेपछि ६६ लाख असुल गराउन जमानत बसेको बैंकलाई पत्राचार गरिएको कार्यालयका लेखा अधिकृत मीनबहादुर बानियाँले बताए । विसं २०७३ मंसिर २१ गते १८ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको थियो । “निर्माण कम्पनीले हालसम्म पाँच प्रतिशत पनि काम गरेको छैन,” डिभिजन कार्यालयका इन्जिनियर गणेश महर्जनले भने ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा २०७६ मंसिर २० गतेभित्र चारतले भवन निर्माण गर्ने सम्झौता भएको थियो । अठार महिनाको अवधिमा डिपिसी र पिल्लर ठड्याउने कामसमेत सकिएको छैन । गत फागुनदेखि कम्पनीका कर्मचारी सम्पर्कबिहीन छन् । “पटकपटक काम गर्न अनुरोध गरेपनि अटेर गरेकाले कारबाही प्रक्रिया अघि बढाएका हौँ,” इन्जिनियर महर्जनले भने ।

भवन निर्माणमा ढिलाइ हुँदा सेवाप्रवाहमा असर परेको बेनी अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक डा रोशन न्यौपानेले बताए । चिकित्सक आवास भवन निर्माण भने अन्तिम चरणमा पुगेको छ । हाललाई अस्थायी भवन निर्माण गरी बिरामीलाई सेवा दिने व्यवस्था मिलाइएको छ । पन्ध्र शैय्याको उक्त अस्पताललाई विस्तार गरी २०७२ सालमा पचास शैय्यामा स्तरोन्नति गरिएको हो ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार ००:००