३२ असार, बाबियाचौर– म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी देखि प्रस्तावित रामायण उद्यान निर्माणस्थल आँपरुख जोड्ने पदमार्ग निर्माण भएको छ ।
बेनी नगरपालिका र पर्यटन विभागको सहयोगमा स्थानीयवासीको अगुवाइमा पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले एक किलोमिटरभन्दा बढी लामो पदमार्ग निर्माण भएको हो ।
पर्यटन विभागको २८ लाख ५० हजार सहयोगमा ८०० मिटर पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताए । यसै वर्ष बेनी नगरपालिकाको चार लाख सहयोगमा थप ११८ मिटर पदमार्ग निर्माण भएको छ ।
गत वर्ष नगरपालिकामार्फत ७५ मिटर पदमार्ग निर्माण भएको थियो । अर्थुङ्गे, पछै, जगन्नाथ, टोड्के मालिका धुरीदेखि बिम मराङ हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म जोड्ने वैकल्पिक पदमार्गका रुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताए ।
बेनीदेखि अर्थुङ्गे जोड्ने भिरालो पाखोमा अवस्थित उकालो बाटोमा पक्की सिँढी निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । यसअघि चिप्लो बाटोमा लडेर दुर्घटना हुने जोखिम थियो ।
बेनी नगरपालिकाले गौरवको आयोजनाको रुपमा आँपरुख, पुलाश्रम र पछैमा रामायण उद्यान निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
डिपिआरले पूर्णता पाएपछि रामायण उद्यानको काम शुरु गर्न आगामी आवमा ४२ लाख बजेटसमेत विनियोजन भएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।
पहिरो नियन्त्रणका लागि पर्खाल निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको तल्लो गाउँमा पहिरो नियन्त्रणका लागि ग्यावियन पर्खाल लगाइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर ग्यावियन पर्खाल निर्माण गरेका हुन् ।
गाउँपालिकाको पाँच लाख १२ हजार ३१ अनुदान र स्थानीयवासीको ६२ हजार ३१ बराबरको श्रमदानमा ६० थान ग्यावियन पर्खाल लगाइएको उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गर्बुजाले बताए ।
पर्खाल निर्माण भएपछि खोल्साबाट आउने बाढी नियन्त्रण, पहिरो रोकथामका साथै सवारीसाधन पार्किङमा सहज भएको छ । यसबाट ४८ घरधुरी लाभान्वित भएका छन् ।
रासस




प्रतिक्रिया