२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो



धु्रवसागर शर्मा
२९ असार, बेनी– म्याग्दी ।

पहिरोले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालनमा अाएको छ । अन्नपूर्ण गाउँपालिका ३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन भइरहेको छ । चीनको तिब्बत जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणको जिम्मा लिएको ठेकेदारलाई पहिरो पन्छाउन प्रयोग गरिएको उनले बताए । गण्डकी प्रदेशको बेनी–जोमसोम–कोरला सडक आयोजना गण्डकी प्रदेशको जीवनरेखा मानिएको छ ।

सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरोको त्रास छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले समन्वय समेत गरेको छ ।

पाइप बगाउँदा खानेपानीको हाहाकार

मंगला गाउँपालिका–५ अर्मनमा बाढीले पाइप बगाउँदा दुई बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरकुम–टिकावाङ सडक विस्तारका क्रममा क्रममा निस्किएको माटो सीधै खहरे खोलामा फाल्दा दिही–पुनगैरा खानेपानीको पाइप बगाएपछि करीब ३५ घरधुरीमा खानेपानीको समस्या भएको छ ।

सडक विस्तारका क्रममा मनपरी फालिएको माटाले पाइप बगाएपछि चार दिनदेखि खानेपानी आपूर्ति बन्द भएको स्थानीयवासी ताराबहादुर क्षेत्रीले बताए । “पटक पटक मर्मत गर्दा पनि बगाएको छ, धारामा पानी नआउँदा खोला र कुवाको पानी खानुपरेको छ” उनले भने । पुनगैरामा १५ र दिही गाउँका २० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।

खानेपानीको पाइप बगाएपछि स्थानीयवासीले सफा पानीका लागि नयाँ मुहानको खोजी गर्नुपरेको स्थानीय बलबहादुर विकले बताए । “सडकले पानीको मुहानमै असर गरेको छ, बर्खाको समयमा धमिलो पानीको प्रयोग गर्न बाध्य छौँ” विकले भने । उनका अनुसार पटक पटक मर्मत गरिए पनि माथिल्लो क्षेत्रबाट आएको बाढीले पाइपमा क्षति पुगेको छ ।

हिउँदमा समेत मुहान सुक्दा समस्या भएकाले स्थानीयवासीले दीर्घकालीन योजनाको माग गरेका छन् । बाढीले पाइप बगाएपछि गाउँपालिकाले उपलब्ध गराएको २६५ मिटर पाइपसमेत बगाएको छ ।

दुई हजार घरधुरी जोखिममा

कमजोर र भिरालो भूबनोट, छोटो समयमा हुने अधिक वर्षा र डोजरको प्रयोग गरी खनिएका मोटरबाटाका कारणले जिल्लामा दुई हजार १५० घरधुरी बाढीपहिराको जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्लामा प्रतिवर्ष ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेका कारण शहर तथा ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरो जाने गरेको भूसंरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौँ मध्यम तथा साना पहिराले करीब ९०० र बाढीले एक हजार २५० घरधुरी जोखिममा परेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ । पहिराले एक हजार ३४.१ हेक्टर क्षेत्रफल ओगटेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दिवाकर पौडेलका अनुसार जिल्लाका साविकका ४१ मध्ये ३७ गाविस बाढीपहिराको जोखिममा छन् ।

उनका अनुसार बेनी नगरपालिका तथा मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साना तथा ठूला बस्ती बढीपहिराको संवेदनशील क्षेत्रमा समावेश गरिएको छ । त्यस्तै कालीगण्डकी र म्याग्दी नदीको कटानले तटीय क्षेत्रका बस्ती जोखिममा छन् ।

जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला, फूलबारी रितुमखोल, घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ ।
रासस

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ००:००