२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा



 

१८ असार, पर्सा । दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् ।

महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् ।

वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका ११ श्रीपुर निवासी मनोज महतोले बताए । उनले महानगरपालिकाले वर्षायाम हुनु अगाबै नालीको सफाइ नगरेकाले पानी घर घरमा पसेर समस्या भोग्नुपरेको गुनासो गरे ।

सडकको पानी जम्मा भएकाले विद्यार्थी लगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । नगरक्षेत्रको डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिए ।

उनले डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न बिहानैदेखि एक्साभेटरसहित कर्मचारी परिचालन गरिएकाले समस्या समाधान हुने बताए ।

एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत नौ आउटलेट (निकासी हुने ठूला नाला) मध्ये ६ वटाको निर्माण भइसकेकाले जम्मा भएको पानी वर्षा बन्द भएको केही वेरमै बगेर जाने अधिकृत श्रेष्ठको भनाइ थियो ।

पानीको अभाबमा धानको रोपाइँ मात्र २ प्रतिशत भएको यस जिल्लामा दुई दिनदेखि परेको आकासे पानीले रोपाइँ हुने वातावरण बन्दै गएपछि यहाँका किसान हर्षित भएका छन् ।
रासस

प्रकाशित मिति : १८ असार २०७५, सोमबार ००:००