Logo

छ वर्ष अघी निर्माण भएको घार सिँचाइ योजना सञ्चालनमा



 

१४ असार, म्याग्दी । अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माण गरिएको सिँचाइ कुलो ६ वर्षपछि प्रयोगमा आएको छ । सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले २०६९ सालमा निर्माण गरेको घार सिँचाइ योजना यस वर्षदेखि सञ्चालनमा आएको हो ।

तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको योजना शाखा नहर र पाइपलाइन नहुँदा प्रयोगमा आउन सकेको थिएन । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले शाखा नहर र पाइपलाइन निर्माण गरेर सिँचाइ योजना प्रयोगमा ल्याएका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

१७ लाख अनुदान सहयोगमा चार ठाउँमा करीब छ किलोमिटर शाखा पाइपलाइन विस्तार गरिएको छ । सिँचाइ विकास डिभिजनले शिख र घारको सिमानामा पर्ने मथेनी खोलादेखि खिवाङसम्म तीन किलोमिटर भन्दा बढी पक्की नहर निर्माण गरेको छ । योजनाबाट घार र खिवाङका ६६८ घरधुरी लाभान्वित भएका छन् ।

अहिले ८२ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । उल्लेरी सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्ष हुकुमबहादुर बरुवालले सिँचाइ कुलो प्रयोगमा आएपछि कृषकलाई राहत मिलेको बताए । विगत वर्षमा असारको अन्तिम सातासम्म धान रोपाइँका लागि पानीको पालो कुरेर बस्ने कृषकले यसपालि असार पहिलो हप्ता नै धान रोपाइँ सकेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्