२९ चैत्र २०८०, बिहिबार | Thu Apr 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गल्छी–रसुवागढी’ सडकको मुआब्जा निर्धारण



 

१२ असार, नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजना अन्तर्गत सडकको दायाँबायाँ १५–१५ मिटर भित्र पर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा रकम निर्धारण गरिएको छ ।

प्रतिआना दुई लाख २५ हजारदेखि तीनलाख २५ हजारसम्म तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

मुआब्जा निर्धारण समितिको बैठकले प्रारम्भिक मुआब्जा निर्धारणको लागि गठन गरेको उपसमितिले पेश गरेको प्रतिवेदन, जग्गाको वर्गीकरण, नेपाल सरकार तथा अन्य निकाय समेतबाट दृष्टिगत गरी जग्गा प्राप्ती ऐन, २०३४ अनुसार सडकमा पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गरेको प्रजिअ थापाले बताए ।

निर्धारण गरिएको जग्गाको मूल्य धादिङको सीमाक्षेत्र दुईपिपलको कोल्पुखोलादेखि कोल्पुटार डिलसम्म प्रतिआना दुई लाख २५ हजार, कोल्पुटार डिल देखि वेलबास खोल्ची सम्म तीन लाख २५ हजार, बेलबास खोल्ची देखि केउरिनी पुल रातमाटेको सीमा सम्म दुई लाख ५० हजार निर्धारण गरिएको छ ।

रातमाटेतर्फ केउरिनीदेखि कालोढुङ्गासम्म प्रतिआना तीन लाख २५ हजार, कालो ढुङ्गा देखि कपडा उद्योग सम्म दुई लाख ५० हजार, कपडा उद्योग देखि धन्सार सम्म तीन लाख २५ हजार, धनसार दोबाटो देखि रातमाटेको वडा कार्यालय सम्मको चन्द्रेखोला सीमा सम्म दुई लाख ५० हजार मुआब्जा निर्धारण गरिएको छ ।

यस्तै, चन्द्रेखोला देखि गडौलीखोला सम्म प्रतिआना तीन लाख २५ हजार, गडौलीखोला देखि टुँडाखोला सम्म दुई लाख ५० हजार, टुँडाखोला देखि जिलिङको सीमास्थित ठूलोखोला सम्म तीन लाख २५ हजार निर्धारण गरिएको छ ।

जिलिङको ठूलोखोला देखि कोल्डस्टोरस्थित चौतारो सम्म प्रतिआना तीन लाख २५ हजार र चौतारो देखि देवीघाटपुल सम्म दुई लाख २५ हजार निर्धारण गरिएको प्रजिअ थापाले जानकारी दिए ।

उनका अनुसार ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत यसअघि नै सडकले ओगट्ने जग्गा धनीको सूची प्रकाशन भइसकेकाले आयोजनाले रकम उपलब्ध गराउने वित्तिकै धनीलाई प्रदान गरिनेछ ।

मुआब्जा निर्धारण समितिले दोस्रो चरणमा अब साविक गेर्खु गाविसको बान्द्रेदेखि वेत्रावती हुँदै मनकामनाको नयाँपुल देखि मैलुङ सम्मको जग्गाको मूल्य निर्धारण गर्ने तयारी थालेको छ ।

सडक क्षेत्रमा पर्ने साविक विदुर नगरपालिकाको देवीघाट देखि बान्द्रे सम्म सडकले ओगट्ने जग्गाको क्षेत्रफल र जग्गाधनीको सूची प्रकाशन गर्न बाँकी छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वार सम्म जोड्न सडक ८२ किलोमिटर दूरीको निर्माणको काम जारी रहेको छ ।

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामार्फत तीन खण्डमा ९ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ ।

गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ ।

रसुवाको मैलुङ देखि स्याफ्रुबेँसी सम्म १८ किमी सडक नेपाली सेनामार्फत निर्माण भएर गत चैत ३० गतेदेखि ट्र्याक सञ्चालनमा आइसकेको छ भने स्याफ्रुबेँसी बाट रसुवागढी सम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ ।
रासस

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार ००:००