१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुस्माबजारमा प्रदेश ४ कै पहिलो अत्याधुनिक बधशाखा



 

८ असार, फलेवास– पर्वत । कुस्माबजारमा ठूला पशु चौपाय बध गर्ने अत्याधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । कुस्मामा झण्डै १ करोडको लगानीमा बसेल पशु बधशाला सञ्चालनमा आएको छ ।

अत्याधुनिक ढंगले पशुको बध गर्ने र स्वस्थकर मासु वितरण गर्न सञ्चालनमा आएको सो बधशाला प्रदेश नं ४ कै पहिलो बधशाला हो ।

कुस्माबजारमा रुखका स्याउलामा पशुको बध गर्ने र फोहर डोका र ट्याक्टरमा मासु बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव परेको भन्दै बसेल ताजा मासु पसलका सञ्चालक शिवलाल सार्कीले आधुनिक पशु बधशाला सञ्चालनमा ल्याएको बताए ।

उनले बिदेशमा १७ वर्ष रोजगारीका क्रममा त्यहाँ सिकेको केही नयाँ सिपलाई आफ्नो देशमा आएर लागू गर्ने योजनाअनुसार यो उद्योग सञ्चालनमा ल्याएको जानकारी दिए ।

कुस्माबजारको जिरो किमी नजिक निर्माण भएको बधशाला ठूला पशुलाई बध गर्ने आधुनिक तरिकादेखि सफा गर्ने र काट्ने काममा पनि पूरै सुरक्षित र आधुनिक प्रविधि जडान गरिएको छ । यहाँ तयार गरिने मासु डिफ्रिजमा राखेर पोखरासम्म पठाउने र बिक्री गर्ने व्यवस्था मिलाइएको सार्कीले बताए ।

उनले पर्वतको कुस्मा, मोदी गाउँपालिकाको पातीचौर, जलजलाको वारी बेनी र फलेबास नगरपालिकामा बिक्री केन्द्र खोल्ने र मासु सुरक्षित गर्ने डिफ्रिज सहितको गाडीबाट बिक्रीस्थल सम्म ढुवानीको व्यवस्था मिलाउने जानकारी दिए । पशुपक्षी बजार प्रवर्द्धन आयोजनाले ५० लाख अनुदान र सार्कीको २० लाखभन्दा बढी नगद उद्योग सञ्चालनमा खर्च भएको छ ।

बधशाला सञ्चालनमा आएपछि १३ जनाले प्रत्यक्ष र सात जनाले अप्रत्यक्ष रोजगारी पाएका छन । सो बधशालाको प्रदेशसभाकी सदस्य जुना नेपालीले बिहीबार उद्घाटन गरिन् ।

कार्यक्रममा उपभोक्ता मञ्चका राष्ट्रिय अध्यक्ष प्रेमलाल महर्जनले धेरै रोग अस्वस्थ्य मासु सेवनका कारण लाग्ने हुँदा यस्ता बधशाला बन्नु उपभोक्ताको स्वास्थ्यका हिसाबले ठूलो उपलब्धि भएको बताए ।
रासस

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ००:००