१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेल्तुङ र सिम्कोशको सिमाना म्याग्दी खोलामा झोलुंगे पुल निर्माण



सन्तोष गौतम
७ असार, बाबियाचौर– म्याग्दी ।

धौलागिरि गाउँपालिका–४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुंगे पुल निर्माण भएको छ ।

गाउँपालिका र टिबिएसयुको सहयोगमा भौगोलिकरुपमा विकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगरगाउँका बासिन्दाले १०२ मिटर लामो झोलुंगे पुल निर्माण गरेका हुन् । २०७४ असारमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या भएको थियो ।

पुल निर्माण भएपछि साँघु र तुइनबाट जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले जानकारी दिए । पुल बगाएपछि सिम्कोशका बासिन्दाले तुइनबाट खाद्यान्न, नुन तेल तारेर उपभोग गर्दै आएका थिए ।

गत वर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याइएको छ । ४६ लाख १४ हजार ७५९ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका अध्यक्ष पुनले बताए ।

गाउँपालिकाको ५ लाख ५३ हजार ८०३, टिबीएसयुको ५ लाख सातहजार ८६ बराबरको लट्ठा र बुल्डअफ ग्रिप, २० लाख २२ हजार ४९३ नगद, १४ लाख २६२ को निर्माण सामग्री र समुदायको ९२ हजार २०१ बराबरको श्रमदानमा पुल निर्माण भएको हो ।

२०७४ फागुन ८ गतदेखि निर्माण शुरु भएको पुल लक्ष्यभन्दा करीब एक महिनाअघि नै सम्पन्न भएको हो । असार २० गते सम्पन्न गर्ने लक्ष्य भएपनि उपभोक्ताको सक्रियताका कारण एक महिनाअघि नै काम सकिएको पुल निर्माणमा सामुदायिक परिचालन तथा प्राविधिक सहयोग गरेको संस्था मिलन म्याग्दीकी प्राविधिक विष्णु पन्तले बताए ।
रासस

प्रकाशित मिति : ७ असार २०७५, बिहिबार ००:००