१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटाको व्यापार सुक्दै गएकामा चिन्ता



 

६ असार, काठमाडौं । धनकुटाबाट उद्योग व्यवसाय बन्द गरी बसाइँसराइ तीव्र हुँदै गएको भन्दै धनकुटाका बुद्धिजीवीले चिन्ता र चासो व्यक्त गरेका छन् ।

धनकुटाका बुद्धिजीवी तथा सरोकारवाला निकायका प्रतिनिधिले यहाँ आयोजित कार्यक्रममा दिन प्रतिदिन चहलपहल कम हुँदै गएको धनकुटामा पुनः चहलपहल बढाउन आवश्यक कार्य गर्न सुझाव दिए ।

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता मनोहरनारायण श्रेष्ठले प्रदेश नं १ को अस्थायी राजधानी धनकुटामा नहुँदा र क्षेत्रीय कार्यालय स्थानान्तरण हुँदा धनकुटा बजारको व्यापार व्यवसायमा मन्दी आएको बताए ।

धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईले धनकुटाका दर्जनौ पसल बन्द भएको र विराटनगर, धरान र इटहरी लगायत तराईका बजारमा धनकुटाबाट बसाइँसराइ हुन थालेकाले यसलाई रोक्न धनकुटावासी र सरकारले तत्काल विशेष पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रध्यापक रेवतीप्रसाद दाहाल, गोपालप्रसाद अधिकारी, ओम श्रेष्ठ, टंक दवाडी लगायतले राणा शासनदेखि हालसम्म गौंडाका रुपमा रहेको धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने माग गरे ।

केन्द्रीय र प्रदेश सरकारले धनकुटालाई जीवन्त राख्न तत्काल ठोस कार्यक्रम ल्याउनु पर्नेमा जोड दिँदै उनीहरुले धनकुटाबासीले पनि निजी क्षेत्रबाट विभिन्न योजना सञ्चालन गर्नुपर्ने बताए ।

प्रदेशको अस्थायी राजधानी धनकुटामा नराख्ने निर्णय भएयता धनकुटा बजारमा अहिलेसम्म २१ वटा विभिन्न किसिमका पसल र सात साना उद्योग बन्द भएको र एक हजारभन्दा बढी मानिस बसाइँसराई गरी अन्यत्र गएको कार्यक्रममा जानकारी दिइएको थियो ।
रासस

प्रकाशित मिति : ६ असार २०७५, बुधबार ००:००