Logo

मालिका गाउँपालिका बिममा ढल निकासका लागी नाली निर्माण



 

५ असार, बाबियाचौर– म्याग्दी । म्याग्दी मालिका गाउँपालिका ७ बिम तल्लो गाउँमा ढल निकासका लागि नाली निर्माण भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय बासिन्दाको श्रमदान बाट ५ लाख ५० हजार ९१७ को लागतमा ११० मिटर पक्की नाली निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सनमान जुक्जालीले बताए ।

७० सेन्टिमिटर गहिरो र ५० सेन्टिमिटर चौडाइ भएको नालीमाथि पक्की ढकनी पनि राखिएको छ । यसबाट बिम तल्लोगाउँका १०० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकाले ५ लाख विनियोजन गरेको योजना सम्पन्न गर्न १०० घरधुरीले दुई दिनका दरले श्रमदान गरेका थिए ।

नाली निर्माण भएपछि गुजमुज्ज परेको बाक्लो बस्तीको सरसफाइमा सहयोग पुगेको वडाध्यक्ष रेशम जुक्जालीले बताए ।

सामुदायिक भवन निर्माण

मंगला गाउँपालिका ४ सोलधारामा सामुदायिक भवन निर्माण भएको छ । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानबाट सभाहल सहितको दुई कोठे भवन निर्माण भएको हो ।

बैठक, तालीम, गोष्ठी, भेला लगायतका कार्यक्रम सञ्चालन गर्न तथा सामुदायिक हितमा उपभोग गर्ने उद्देश्यले तीन लाख विनियोजन भएको एकीकृत सामुदायिक भवन निर्माण योजना सम्पन्न भएको वडा अध्यक्ष ओमबहादुर रोका रवी ले जानकारी दिए ।

भवन परिसरमा स्थानीय बासिन्दाको पहलमा यसअघिनै खेलमैदान निर्माण भइसकेको छ । उक्त खेलमैदानमा फुटबल, भलिबल, त्रिकेट लगायतका खेल सञ्चालन गर्न सकिन्छ ।

बरंजाको सबैभन्दा ठूलो उक्त खेलमैदानको घेराबार र व्यवस्थापन गर्ने कार्यलाई वडा कार्यालयले विशेष प्राथमिकतामा राखेको वडा अध्यक्ष रोकाले बताए ।
रासस

प्रतिक्रिया दिनुहोस्