८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेलिफोन सेवा अवरुद्ध हुँदा सास्ती भोग्दै रोल्पाली



 

४ असार, रोल्पा । रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसंगै सेवा अवरुद्ध भएको बताइएको छ ।

पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि आएको समस्याका कारण पूर्वी रोल्पाका बासिन्दा सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै पूर्वी रोल्पाका तीन वटा गाउँपालिका प्रभावित भएका छन् ।

सुनछहरी गाउँपालिकाको गाम, सिउरी र सेरममा पूरै सेवा अवरुद्ध छ भने अन्य वडा पनि आंशिक रुपमा प्रभावित भएका छन् । केही दिन अघि परेको चट्याङका कारण सिष्टम जलेपछि सेवा अवरुद्ध भएको टेलिकम रोल्पाले जनाएको छ ।

समस्या देखिएका टेलिफोन टावर मर्मतका लागि आफूहरुले अञ्चल कार्यालय तुल्सीपुरलाई जानकारी गराएको नेपाल टेलिकम रोल्पाका प्राविधिक प्रतापकुमार महतोले जानकारी दिए । टावरमा ठूलो समस्या देखिएका कारण जिल्लाको जनशक्तिले नभ्याउने भएकाले अञ्चल कार्यालयमा जानकारी गराएका छाैँ केही दिनमै सेवा सुचारु हुन सक्छ महतोले भने ।

सेवा अवरुद्ध हुँदा स्थानीय अत्यावश्यक सेवाका लागि समेत घण्टाैँ हिँडेर फोन गर्न बाध्य भएको स्थानीय शिक्षक देवसिंह ठकुरीले बताए । उता पश्चिम रोल्पाको रातामाटा रिपिटर टावरमा आएको खराबीका कारण चार दिनदेखि अवरुद्ध टेलिफोन सेवा अझै सुचारु नहुँदा यहाँका स्थानीय मर्कामा परेका छन् ।

टेलिफोन सेवा अवरुद्ध हुँदा पश्चिम रोल्पाका आधा दर्जन बढी गाउँपालिका र रुकुम पूर्वका केही गाउँपालिका समेत टेलिफोन सेवा विहीन हुन पुगेका छन् ।
रासस

प्रकाशित मिति : ४ असार २०७५, सोमबार ००:००