१ असार, बेनी– म्याग्दी । धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् ।
कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको गाउँ बनाउन जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न बास्कुना बाहेक अन्य गाउँका बासिन्दा पनि तरकारी खेती तथा पशुपालनमा लागेका छन् । अहिले बास्कुना ‘एफएम’ गाउँका रुपमा चिनिन थालेको छ ।
दुई वर्ष साउदी अरबमा काम गरेर फर्केका तिलक गुरुङले भैँसीपालन, तरकारी खेती र सुन्तला खेतीबाट शुरु गरेको अभियान अहिले गाउँभरि विस्तार भएको स्थानीयवासी श्याम खत्रीले बताए । गुरुङले केञ्जन बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरेर कृषि र पशुपालन गर्दै आएका छन् ।
वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनबाट वार्षिक १२ लाखसम्म कमाइ गर्न थालेका छन् । विदेशमा छ वर्षमा हुने कमाइ यहाँ एक वर्षमा कमाउन सकिने गुरुङ बताउछन् । पशुपालन, दुग्ध उत्पादन, तरकारी खेती, फलफूल खेती र पोल्टी फार्म आफूहरुको प्रमुख पेशा भएको उनको भनाइ छ ।
छ वर्ष कतारमा बसेर फर्केका मनबहादुर खत्रीले गाउँमै पशुपालन, फलफूल र तरकारी खेती गरेका छन् । उनले ५ वटा उन्नत जातका भैँसीसमेत पालेर मासिक ५० हजारसम्म आम्दानी गर्दैआएका छन् ।
पशुपालन, तरकारी खेती र फलफूल खेतीबाट यहाँका बासिन्दाले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । बास्कुनाका बासिन्दाले गरेको मेहनत देखेरै अन्य गाउँका बासिन्दा कृषि र पशुपालनतर्फ आकर्षित भएका छन् ।
रासस





प्रतिक्रिया