Logo

गोँगबु देखि सिनामंगल सम्म ठूला बस चल्ने



 

२९ जेठ, काठमाडौं । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ । सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो ।

बस सञ्चालनसंगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मका यात्रुलाई आवतजावतमा सहज हुनेछ । सामाखुशी यातायात व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतिले ७ करोड लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए । “असार पहिलो हप्ता १० बस र त्यसपछि सात बस सञ्चालनमा ल्याउँछौँ,” उनले भने ।

सामाखुशी भएर चल्ने माइक्रोबसलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगल सम्म नयाँ बस सञ्चालन गर्न लागेको समितिले जनाएको छ । सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले १ करोड ९० लाख अनुदान दिएको छ । सोही रुटमा ठूला बस सञ्चालन भएसंगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल–रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् ।

सरकारले पछिल्लो समय उपत्यकामा सवारीसाधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारीसाधन तथा टर्सरी रुटमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्