१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरका सबै वडामा वृक्षरोपण



 

२२ जेठ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका सबै वडामा आज वृक्षरोपण गरिएको छ । कामपाले यहाँ विश्व वातावरण दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वृक्षरोपणको शुरुआत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले आउँदो पाँच वर्षभित्र शहरमा भएका घरका तुलनामा जमीनमा हरियाली सन्तुलन गर्नु कामपाको लक्ष्य भएको बताए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले वृक्षरोपण गर्नुभन्दा आगामी दिनमा त्यसको संरक्षण गर्न मुख्य चुनौती रहेको धारणा राखिन् ।

कामपा वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले आउँदो पाँच वर्षमा हरियालीका क्षेत्रमा देखिने उपलब्धि हासिल हुनेमा विश्वस्त रहन आग्रह गरे । यस अवसरमा कामपाले प्रत्येक वडालाई २०० बिरुवा रोप्न निर्देशन दिँदै केही समयभित्र तथ्यांक दिन आग्रह गरेको छ ।

वातावरण दिवसको सन्दर्भ पारेर यस वर्ष महानगर क्षेत्रभित्रका सरकारी, अर्धसरकारी, गैरसरकारी तथा वित्तीय संस्था, निजी तथा सामुदायिक विद्यालय, कलेज, अस्पताल लगायत क्षेत्रमा वृक्षरोपण गर्न शुरु गरिएको छ ।

हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको छ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारणसभाले यस दिनलाई वातावरण सुधारमा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन आग्रह गरेको हो ।

यस वर्ष कामपाले ‘काठमाडौं हरियाली मेरो जिम्मेवारी, नगरवासीमा खुशीयाली’ भन्ने नारासहित अभियान थालनी गरेको छ । रोपिएका बिरुवाको तथ्यांक लिने, ती बिरुवा संरक्षणको निरन्तर नियमन गर्ने र बिरुवा हुर्काउने जो कोहीलाई मूल्यांकन गरी कामपाले सम्मान गर्ने छ ।
रासस

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलबार ००:००