१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण सुरु



फलेवास (पर्वत), ७ वैशाख । पुलैपुलको जिल्ला पर्वतमा फेरि अर्को अग्लो मुलुककै नमुना पुल निर्माण हुने भएको छ ।

छिमेकी जिल्ला बागलुङको सदरमुकाम बागलुङबजार र पर्वतको सदरमुकाम कुश्मा नगरपालिका–१ पाङ जोड्ने पुलको निर्माण कार्य सुरु भएको हो । यो पर्वतको पाँचाँै अग्लो झोलुङ्गे पुल हुनेभएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी उक्त झोलुङ्गे पुल निर्माणका लागि चालु आवमा रु दुई करोड विनियोजन भइसकेको जिल्ला समन्वय समिति पर्वतले जनाएको छ । पुल निर्माणका लागि सरकारले पहिलो चरणअन्तर्गत विस्तृत सर्वेक्षण गरी लागत स्टिमेटको विवरण तयार गरिसकेको छ । उक्त पुललाई टेन्डर प्रक्रिया मार्फत आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

विज्ञहरुले तयार गरेको लागत विवरणको स्टिमेट विभागमार्फत जिल्लामा अनुमोदनका लागि प्राप्त भएपछि थप कार्य अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालय पर्वतका प्राविधिक शिव बरालले जानकारी दिए ।

उक्त पुल निर्माण भएपछि भने पाङ र बागलुङ जिल्ला प्रत्यक्ष रुपमा जोडिनेछन् । यस्तै पर्वतको कुश्मा नगरपालिका–७ स्थित खरेहाबाट कुश्मा नगरपालिका–१० ज्ञादी जोड्ने मोदीखोलामाथि पनि अर्को अग्लो पुल निर्माण कार्य सुरु गर्ने तयारी भएको छ ।

पर्वतमा यसअघि मुलुककै अग्ला तीनवटा कुश्मा–ज्ञादी जोड्ने, बडागाउँ–मुडिकुवा र बागलुङको बलेवा क्षेत्रसंग जोड्ने वडागाउँ–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् । रासस

प्रकाशित मिति : ७ बैशाख २०७४, बिहिबार ००:००