२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यातायात सञ्चालन अयोग्य दर्जनौँ सडक



 

२१ जेठ, जाजरकोट ।
जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमाना सम्म जोड्न १० किमी मात्रै बाटो खन्न बाँकी छ । जुनीचाँदे गाउँपालिकाले चालू आर्थिक वर्ष सडक निर्माणमा २ करोड ५० लाख खर्चंदै छ ।

गाउँपालिका क्षेत्रभित्रका १४ वटा सडक निर्माणका लागि बजेट खर्च हुने भएको हो । बारेकोट गाउँपालिकाको सिमाना सम्म सडक पुग्न २० किलोमिटर छ । बारेकोटले पनि गाउँपालिका क्षेत्रभित्रका दुईवटा सडक निर्माणका लागि डेढ करोड खर्च गरेको छ ।

त्यस्तै चालू आर्थिक वर्षमा शिवालय गाउँपालिकाले १४ वटा सडक निर्माण तथा स्तरोन्नतिका लागि साढे तीन करोड, कुशे गाउँपालिकाले १० वटा सडक निर्माणमा ३ करोड, भेरी नगरपालिकाले चार दर्जन सडकका लागि साढे ५ करोड खर्चंदै छ ।

ती गाउँ र नगरपालिकाले चालू आवमा सडक निर्माणमा आधाभन्दा बढी बजेट खर्च पनि गरिसकेका छन् । जिल्लाका बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन । यिनीहरूमात्र होइन, जिल्लाका सातवटै स्थानीय तहले सडक निर्माणमा मोटो बजेट खर्चंदै आएका छन्  । ती स्थानीय तहले महिला तथा बालबालिका, स्वास्थ्य, कृषि तथा पशु, सूचना सञ्चार, उद्योग, ऊर्जा लगायत शीर्षकलाई बेवास्ता गर्दै सडक निर्माणमा मात्र ठूलो बजेट छुट्याएका हुन् ।

चालू आव जस्तै विगतमा दर्जनौँ सडक निर्माण भएका छन्  तर ती सडकमा यातायात सञ्चालन योग्य छैन  । जाजरकोटमा निर्माण भएका आधा दर्जन सडकमा मात्र यातायात सञ्चालन हुँदै आएको छ ।

विगतका वर्षमा विभिन्न निकायबाट निर्माण भएका १०० ग्रामीण सडक प्रयोगविहीन छन् । पछिल्लो समय जाजरकोटका सातवटै स्थानीय तहमा व्यापक मात्रामा सडक निर्माण हुँदै आएका हुन् ।

यसैगरी सात स्थानीय तहमा १०० भन्दा बढी सडक डोजरले खन्ने काम भइरहेको छ । जाजरकोटमा लाखौँ खर्चेर सडक खन्ने तर १० वर्षसम्म गाडी नगुडाउने प्रचलनको विकास भएको छ । कतिपय सडक प्राविधिक रूपले नक्साङ्कन नगरिनुका साथै वातावरणीय असर तथा सडक निर्माण मापदण्डविपरीत निर्माण भएका छन् ।

“जथाभावी खनेर बनाएका सडकमा बस गुड्ने त परैको कुरा, ट्र्याक्टर र जिपसमेत गुड्न सक्दैनन्” आचार्यले भने । जाजरकोटमा करोडौँ बजेट खर्चेर निर्माण थालिएका १२१ सडक प्रयोगविहीन छन् ।

निर्माणमा ढिलासुस्ती हुँदा जाजरकोट–पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक, छेडा–चाँदे–जुम्ला सडक र जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडक अलपत्र छन् ।

डोजरले स्थानीयवासीको रोजगारी खोस्यो

जाजरकोटका सातवटै गाउँ र नगरपालिकामा डोजरले यतिबेला धमाधम सडक खन्ने काम गरिरहेका छन्  । जाजरकोटमा सडक, कुलो, पुलको जग, घरको जग लगायत निर्माण गर्ने काममा डोजरकै प्रयोग हुने गरेको छ । निर्माण कार्य डोजरले गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा भने बेरोजगार बनेका छन् ।

घरछेउमा सडक बनाउने, कुलो खन्नेलगायत काम गर्ने मौका नपाएपछि बेरोजगार स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन् ।
रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ००:००