१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल–बेलहिया सडकका सौर्यबत्ती २ वर्ष नपुग्दै काम नलाग्ने अवस्थामा



 

भरत केसी
२० जेठ, बुटवल ।

बुटवल–बेलहिया व्यापारिक मार्गलाई रातिमा उज्यालो र सुन्दर राख्ने उद्देश्यले सडकबीच भागमा राखिएका सडक सौर्यबत्तीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । बुटवल बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडक सुन्दर राख्ने उद्देश्यका साथ राखिएका सडक सौर्यबत्ती प्राविधिक रुपमा दुई वर्ष नपुग्दै काम नलाग्ने अवस्थामा छन् ।

बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको नेपाल भारत सीमा बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गको रुपमा आधुनिक र फाराकिलो बनाउने काम भइरहेको छ । उक्त सडकबीचमा रहेको डिभाइडरमा पोल गाडेर राखिएका सौर्यबत्ती अहिलेसम्म साढे पाँच किलोमिटरमा राखिएको छ । सडककोबीच भागमा राखिएका यस्ता १५० सौर्यबत्ती प्राविधिक रुपले नै काम नलाग्ने अवस्थामा देखिएका छन् ।

व्यापारिक मार्गको बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल सम्मको झण्डै साढे चार किलोमिटर खण्डमा र भैरहवामा एक किलोमिटर क्षेत्रमा १५० बत्ती राखिएको छ । व्यापारिक मार्ग आयोजनाको करीब दुई करोडको लागतमा करीब दुई वर्षअघि मात्र यी बत्ती राखिएका हुन । महेश निर्माण सेवा कम्पनीले उक्त सोलारबत्ती जडानबापतको दुई करोड भुक्तानी पाइसकेको छ ।

उक्त सोलारबत्ती जडान गरेको करीब दुई वर्षमै झण्डै ५० प्रतिशत भन्दा बढी बत्ती त बल्नै छाडेका छन् । बत्तीले उज्यालो दिन छाडेपछि आयोजना कार्यालयले मर्मतका लागि काम भइरहेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रवक्ता इन्जिनियर गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडकमा प्रर्याप्त उज्यालो हुन नसक्नुमा सोलार बत्तीको पावर कम हुनु र प्रत्येक पोलको दुरी बढी हुनु नै मुख्य रहेको छ । सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दुरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले पनि उज्यालो प्रर्याप्त हुन नसकेको उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले सडकमा रातिको समयमा पनि उज्यालो राखेर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएको सोलार बत्तीले प्रभावकारी रुपमा काम गर्न नसकेकाले यसको विकल्पमा अन्य व्यवस्था गर्नुपर्ने उनी बताउछन् ।

व्यापारिक मार्गको अधिकांश क्षेत्र जिल्लाको तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्दछ । तिलोत्तमा नगरपालिकाका प्रमुख वाशुदेव घिमिरे आयोजनाले राखेका सोलार प्लान्ट बत्तीले प्रभावकारी रुपमा उज्यालो दिन नसकेको बताउँदै पहिले राखेका र अब नयाँ ठाउँमा राख्ने बत्ती प्रभावकारी हुने गरी राख्न आयोजनालाई आफूहरुले अनुरोध गरेको बताए ।

उनले आयोजनाले राजमार्ग क्षेत्रमा राख्ने यस्ता बत्ती पूर्णरुपले उज्यालो दिने खालको राख्ने प्रतिबद्धता जनाएको नगरप्रमुख घिमिरे बताउछन् ।
रासस

प्रकाशित मिति : २० जेष्ठ २०७५, आइतबार ००:००