११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुम्ती शौचालय प्रयोगहीन



 

१९ जेठ, उर्लाबारी– मोरङ ।
यहाँको घुम्ती शौचालय यतिबेला प्रयोगहीन बन्दै गएको छ । सात वर्षअघि उर्लाबारीलाई खुला दिसामुक्त घोषणा गरिएसँगै निर्माण गरिएको घुम्ती शौचालय अहिले बेवारिसे छ ।

उर्लाबारी–७ भद्रमारी जाने सडक छेउको ग्यारेजमा पाँच वर्ष अगाडि मर्मतका लागि भनी राखिएको शौचालय बेवारिसे बनेपछि नगरपालिकाको रकम बालुवामा पानी हालेसरह भएको छ । उर्लाबारी सरसफाइ समितिले प्लान नेपालको ३ लाख ५० हजार र तत्कालीन उर्लाबारी गाविसको एक लाख ५० हजारको अनुदान सहयोगमा घुम्ती शौचालय निर्माण गरेको थियो ।

पूर्वकै नमूना घुम्ती शौचालय अहिले न त नगरपालिकाले मर्मतसम्भार गरेको छ न त सरसफाइ समितिले नै चासो दिएको छ । नगरको सम्पत्ति शौचालय कवाडीका रुपमा ग्यारेजमा थन्किरहेको देख्न सकिन्छ ।

जिल्ला विकास समिति मोरङका तत्कालीन स्थानीय विकास अधिकारी पशुपति पोखरेलले उद्घाटन गरेको भट्ट हेर्दा आकर्षक देखिने ठूलो ट्रली भएको सो शौचालयलाई स्थानीय सरसफाइ समितिले सञ्चालन गर्दै आएको थियो । पूर्वमा हुने मेला, महोत्सव, विवाह, पुराण, सभा समारोह लगायत विभिन्न कार्यक्रममा समेत घुम्ती शौचालयलाई प्रयोग गरिँदै आएको थियो ।

शौचालय सञ्चालनबाट दैनिक १ हजार आम्दानी र दुई जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका थिए । तत्कालीन उर्लाबारी गाविस सचिव मुरारीप्रसाद घिमिरेलाई घुम्ती शौचालय हस्तान्तरण गरिएको तर त्यसपछि बेवारिसे र कवाडीमा परिणत हुनुमा आफ्नो कुनै भूमिका नरहेको सरसफाइ समितिका तत्कालीन अध्यक्ष महेन्द्रजंग तामाङ बताउछन् ।

उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई नगरपालिका कार्यालयले घुम्ती शौचालयलाई व्यवस्थित बनाउँदै पुनःसञ्चालनमा ल्याउनुपर्ने बताए । उर्लाबारीमा प्रत्येक शुक्रबार हाटबजार लाग्ने भएकाले व्यापारीलाई शौच गर्न समस्या हुने गरेको बताउँदै भट्टराईले यसप्रति नगरपालिकाको ध्यान जान आवश्यक भएको बताए ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले हाल उर्लाबारी मुख्य चोकमा रहेको सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउने काम भइरहेको बताउँदै घुम्ती शौचालयलाई पनि व्यवस्थित बनाएर सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ००:००