१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झाडापखाला नियन्त्रण हुँदैः बिरामी आउने क्रम जारी



 

१३ जेठ, तुलसीपुर– दाङ ।
शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै गएको छ ।

गए राति १ बजेसम्म उपचारका लागि आएका ४१९ मध्ये ४१ गम्भीर बिरामीको राप्ती अञ्चल अस्पताल र तुलसीपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अहिले उनीहरुको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पतालले जनाएको छ । अन्य बिरामी भने उपचारपछि घर फर्किसकेका छन् ।

बिहान भने महामारी फैलिएको गाउँबाट थप ४३ महिला र २५ बालबालिकालाई उपचारका लागि ल्याइएको उपचारमा संलग्न डा किशोर खत्रीले जानकारी दिए । ती बिरामीलाई शान्तिनगरको चिराघाट स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको छ । गए रातिदेखि नेपाली सेना १९ नं बाहिनी अड्डा तुलसीपुरको टोलीले पनि बिरामीको उपचार गरिरहेको छ ।

महामारी नियन्त्रणका लागि व्यापक सतर्कता अपनाइएको छ । सो ठाउँमा रहेको माइली पानी मुहानमा गए रातिदेखि नै नेपाली सेनाको टोली र जिल्ला खानेपानीबाट गएको टोलीले सरसफाइ तथा औषधि राखेका छन् ।

सो गाउँपालिकाको पातेटाकुरास्थित बयालेसिम्ता मावि, हुमाचन्द्र आधारभूत विद्यालय र बुद्ध मावि विद्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीले जानकारी दिए । पानीको मुहान दूषित हुँदा जीवाणुका कारण झाडापखालाको महामारी फैलिएको डा खत्रीले बताए ।
रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आइतबार ००:००