१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जैविक तटबन्ध निर्माणले तीन सय बढी परिवारको सुरक्षा



 

१३ जेठ, कञ्चनपुर ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो ।

दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो । “नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने भएकाले यहाँका बासिन्दाले बस्ती छाड्नुपर्ने हुन्थ्यो” स्थानीयवासी पृथु रानाले भने, “विगतको जस्तो नदीले जग्गा बगाउने चिन्ता छैन ।”

नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि जग्गा बगाउने समस्याबाट छुट्कारा पाएको उनले बताए । यहाँका स्थानीय बासिन्दाले २२ लाख चन्दा संकलन गरी स्वस्फूर्त रुपमा डेढ किलोमिटर लामो जैविक तटबन्ध निर्माण गरेका हुन् ।

“नदीले गर्दै आएको भूक्षय रोक्नका लागि १ महिना लगाएर ३ सय भन्दा बढी स्थानीयवासीले बाँसको जैविक तटबन्ध निर्माण गरेका छौँ” रानाले भने, “खाली रहेको जग्गामा घाँस रोपिएको छ ।” नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि यस क्षेत्रमा बसोबास गर्ने ३ सय परिवारको सुरक्षा भएको छ ।

नदीको खेर गएको बगरबाटै घाँस पाइन थालेपछि टाढाको सामुदायिक वनबाट घाँस ल्याउनुपर्ने झन्झट हटेर गएको छ । बन्धु रानाले भने, “जैविक तटबन्धका लागि घाँस रोपिएपछि सामुदायिक वनसमेत जोगिएको छ ।”

“तटबन्ध निर्माण गरिदिनका लागि स्थानीय तहदेखि केन्द्रसम्म पुग्यौँ तर कसैले हाम्रो आवाज सुनेन, सुनेकाले आश्वासन दिए योजना लागू गरेनन्” श्रीकृष्ण रानाले भने, “स्वस्फूर्त रुपमा संगठित भएर जैविक तटबन्ध निर्माण गरिएपछि बाढीका बेला ढुक्कसँग बस्न सकिने भएको छ ।

बर्सातमा पानी दर्किन शुरु भएपछि बालबालिका बोकेर सुरक्षित क्षेत्रमा भाग्नुपर्ने बाध्यता थियो” उनले भने, “जैविक तटबन्धले त्यो समस्या हटाएको छ ।” जनप्रतिनिधिले समेत साथ दिन थालेकाले नदी नियन्त्रणमा सहयोग पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।
रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आइतबार ००:००