९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिदिमको स्याउडाँडा हवाईमैदान निर्माणका लागि अध्ययन



 

३ जेठ, पाँचथर ।
फिदिम नगरपालिका ८ रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन थालिएको छ । नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाईमैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो ।

इन्जिनियर ओजश्वीबाबु मल्ल सहितको तीन सदस्य टोलीले १ हजार २०० मिटर लम्बाइ र २८० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरेको पाँचथर हवाईमैदान समितिका सदस्य सूर्य अधिकारीले जानकारी दिए ।

यसअघि सो स्थानमा २०६७ सालमा समेत हवाईमैदानको सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसबेला १८ जना क्षमताको जहाजलाई मात्र अवतरण गर्न र उडान भर्न सकिने गरी अध्ययन गरिएको थियो । अहिले ५० जना क्षमता भएको जहाजलाई अवतरण र उडान भर्न सकिने गरी हवाईमैदान निर्माणका लागि प्राधिकरणले पुनः अध्ययन गरेको अधिकारीले बताए ।

अध्ययन प्रतिवेदन ५ महिनाभित्रमा नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र त्यसपछि हवाईमैदानको समग्र अध्ययन गरिने इञ्जिनियर मल्लले बताए । अध्ययनका क्रममा सबै हिसाबले स्याउडाँडा हवाईमैदान बनाउन उपयुक्त देखिएको छ ।

सर्वेपश्चात् स्याउडाँडा उपयुक्त स्थान ठहरिएपछि हवाईमैदान निर्माणका लागि स्थानीयवासी १०० रोपनी जग्गा निःशुल्क र बाँकी प्रतिरोपनी १० हजारका दरले जग्गा दिन सहमत भएका थिए ।

सम्भाव्यता अध्ययन भएको लामो समय बित्दा पनि हवाईमैदान निर्माणको काम अघि नबढ्दा स्थानीयवासी निराश भएका थिए । अहिले प्राधिकरणले पुनः सर्वे गरेपछि स्थानीयवासी खुशी भएका छन् । धावनमार्गसहित आवश्यक सम्पूर्ण संरचना तयार गर्न २ अर्बदेखि ३ अर्ब सम्म खर्च लाग्ने इञ्जिनियर मल्लले बताए ।
रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहिबार ००:००