७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि गाउँपालिका मराङको हरिहर मन्दिरको जीर्णोद्धार



२ जेठ, बाबियाचौर– म्याग्दी ।
धौलागिरि गाउँपालिका– ६, मराङको बेँशीमा रहेको धार्मिक महत्वको हरिहर मन्दिरको जीर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयवासीले मन्दिरको मर्मत सम्भार गरेर जीर्णोद्धार गरेका हुन् ।

वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको ४ लाख र स्थानीयवासीको ५० हजार बराबरको श्रमदानमा मन्दिर जीर्णोद्धार गरी धार्मिक विधिअनुसार शिव मूर्ति र शिवलिंगको प्रतिष्थापन गरिएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण उपाध्यायले बताए ।

कच्ची अवस्थामा रहेको मन्दिरको पर्खाललाई प्लास्टर गर्नुका साथै एकतला थप गरिएको छ । काठको खाँबो हटाएर सिमेन्टको पक्की पिल्लर बनाइएको छ । मन्दिरको बाहिरी भागमा पिसिसी ढलान गरिएको छ । विसं २०५० मा निर्माण भएको मन्दिर जीर्ण भएकाले मर्मत गरिएको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

हिन्दू धर्मावलम्बीका भगवान् शिवको मूर्ति रहेको मन्दिरमा बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तीज, रामनवमी, अक्षय तृतीया, कृष्ण जन्माष्टमी, शिवरात्रि, साउन पूर्णिमा लगायतका पर्वमा विशेष पूजाआजा हुनेगर्छ ।

नियमितरुपमा दैनिक नित्य पूजा गरिने मन्दिरमा पूजाआजा र दर्शन गरेमा पाप नाश भई पुण्य मिल्ने पुजारी तारानाथ उपाध्यायले बताए । मन्दिर परिसरको घेराबार र नदी नियन्त्रणको समेत आवश्यकता रहेको छ ।
रासस

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ००:००