नारायण ढुंगाना
२२ बैशाख, रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी गर्न थालेको छ ।
यहाँको शक्तिखोर, सिद्धिलगायत पहाडी क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले करिब २ करोड रुपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।
शक्तिखोरको पहाडी पर्यटकीय क्षेत्रमा जाने सडक र बाटोघाटो निर्माण तथा प्रचारप्रसारलाई तीव्रता दिनेगरी काम थालेको छ । शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटक समेत भित्र्याउने योजना बनाइएको श्रेष्ठले बताए ।
शक्तिखोरको सिन्ती झरनालगायत क्षेत्रमा अहिले पनि आन्तरिक पर्यटक जाने गरेका छन् । विदेशी पर्यटक औंलामा गन्न सकिने भएकाले अब विदेशी पर्यटक समेत भित्र्याउने र स्वदेशी पर्यटक बढाउने गरी काम सुरू गरिएको छ ।
यसका लागि कालिका नगरपालिका भित्रपर्ने पहाडी क्षेत्र सिद्धि, शक्तिखोरलाई इच्छाकामना गाउँपालिकाको उपरदाङगढी र सिँराइचुली, खैरहनी नगरपालिकाको कंकाली तथा रत्ननगरको सौराहा र कृष्ण प्रणामी मन्दिरलाई समेत जोडेर एकिकृत पर्यटन विकास योजना अघि सारेको छ ।
मुख्यगरी पर्यटन विकासका लागि बाटोघाटोको सुविधा आवश्यक पर्ने भएकाले पहाडी क्षेत्रको पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ ।
नगरपालिकाले यहाँको सिन्ती झरनामा जाने पैदलमार्ग निर्माणका लागि १० लाख रुपैयाँ, नागदहमा जाने बाटो निर्माणका लागि ४ लाख रुपैयाँ, चित्राम झरनामा जाने बाटो निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै देउजर, पाइमाराङ, मझवाङ, दौत्य, गामिङदुङ, छेरवाङ, तथा लोतौती पर्यटन सडकका लागि मात्रै करीब १ करोड ६० लाख बढी रकम विनियोजन गरेर काम शुरु गरेको छ ।
चितवनको कालिका नगरपालिकामा मुख्यगरी भीमवली बाबा, कालिका मन्दिर, नागदह, चमेरे गुफा, उदयपुर फनपार्क, चित्राम झरना, सिन्ती झरना, सम्फर्याङका आकर्षक प्राकृतिक पर्यटकीय आकर्षकका केन्द्र हुन् ।
यहाँका स्थानीय विवेक डल्लाकोटीले सौराहा र सिँराइचुलीलाई जोड्न सके यो क्षेत्र पर्यटनको खानी रहेको दाबी गर्छन् । स्थानीय दलबहादुर चेपाङले यहाँ रहेको चेपाङ संस्कृतिसँग जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभयो । रासस
प्रतिक्रिया