१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङका ग्रामीण क्षेत्रका स्थानीयवासीको सक्रियतामा सडक निर्माण



२२ वैशाख, ताप्लेजुङ ।
ताप्लेजुङका ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नै लगानीमा सडक निर्माण शुरु गरी आफ्नो गाउँलाई यातायातको पहुँचमा पु¥याएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न वडाका स्थानीयवासीले आफ्नै लगानीबाट सडक निर्माण शुरु गरी कच्ची सडक आफ्नो गाउँसम्म पु¥याएका हुन् ।

सरकारद्धारा भइरहेको सडक निर्माणको गतिसुस्त भएको भन्दै स्थानीयवासीले शुरुमा १ करोड संकलन गरेर २०७२ सालदेखि सडक विस्तारको काम शुरु गरेका थिए । सिरिजंघा गाउँपालिकामा पर्ने साविकको आम्वेगु दिनको हप्पुखोलाबाट शुरु गरिएको निर्माणकार्य हाल साविककै खेवाङ गाविससम्म पुगेको छ ।

हप्पुखोलादेखि झण्डै ८ किलोमिटरमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेस्थित बाँकेटारसम्म समुदायको लगानीमा सडकको ट्र्याक खोलिएको र त्यसपछि साविक जिल्ला विकास समिति र स्थानीय तहको झण्डै २ करोड बढीको सहयोगमा थप बाटो निर्माण भइरहेको बताइएको छ ।

साविकका गाविस खेवाङ, शुरुम्खिम र मेहेलेबाटप्रति गाविस ३७ लाखका दरले पैसा जम्मा गरेर सडक निर्माण प्रारम्भ गरिएको आम्वेगु दिन मेहेले शुरुम्खिम, खेवाङ याम्फुदिन सडक उपभोक्ता समिति अध्यक्ष तीर्ज लिङ्देनले जानकारी दिए ।

उनका अनुसार प्रति घरपरिवारले ५ हजारदेखि एक लाखसम्म सडक निर्माणका लागि दिएका छन् । कच्ची सडक गाउँमा पुगेसँगै ती ठाउँमा साना सवारी साधन गुड्न थालेका छन् भने स्थानीयवासीमा खुशीयाली छाएको छ । अहिले खेवाङ हुँदै याम्फु दिनसम्मको सडक निर्माणकार्य जारी रहेको छ ।

कञ्चनजंघा पर्यटकीय मार्ग नामाकरण गरिएको उक्त सडक मेहेले, शुरुम्खिम, खेवाङ र मामांखे हुँदै याम्फुदिनसम्म जोडिन्छ । सडक निर्माणपछि भने सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र आफूहरुको जनजीवनमा समेत परिवर्तन आउने स्थानीयवासीको भनाइ छ ।
रासस

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ००:००