५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौशाला नगरपालिकाको दलितबस्ती मदिरा निषेधित क्षेत्र



२१ वैशाख, बर्दिवास ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरको दलित बस्तीका बासिन्दाले बिहीबार आफ्नो बस्तीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा रेडियो गौशाला ९३।६ मेगाहर्ज महोत्तरी ले आयोजना गरेको मदिरा निषेधित क्षेत्र घोषणा तथा शैक्षिक जागरण अभियान–२०७५ मा त्यहाँका ९५ घर दलितले आफ्नो बस्ती अब पूर्णरुपमा मदिरा निषेधित क्षेत्र भएको घोषणा गरेका हुन् ।

मुसहर ६० र चमार ३५ गरी जम्मा ९५ घरका दलितले मदिराको कारण घर घरमा रडाको बढ्ने र आर्थिक क्षति हुने भएकाले बस्तीमा अब मदिरा पूर्ण निषेध गरिएको बताएका थिए । पुरुषभन्दा महिलाको निकै बढी सहभागिता देखिएको घोषणा समारोहमा महिलाले एक स्वरले ‘मदिरा अब चल्दैन’ भन्दा पुरुषले ‘चल्दैन–चल्दैन’ भन्दै सहमति जनाएका थिए ।

मदिरा निषेधको नारा लगाउने र घोषणा गर्नेमा महिला अघि देखिए पनि बस्तीका पुरुष पनि त्यसको समर्थनमा उभिएका छन् । “दारु सब कलहको जड रहेछ” बस्तीका अगुवा ६५ वर्षीय अछवा सादाले भने, “अब हाम्रा कुनै सन्तानले यो नछुउन् ।”

“अब हाम्रा सबै छोराछोरी स्कूल जान थालेका छन्” समारोहमा सो बस्तीकी परमिला सादा मुसहरले भने, “हामीले त पढ्न सकेनौँ, तर अब हाम्रो आँखा खुलेको छ, बस्तीका सबै नानी स्कूल जान थालेका छन् ।”

बस्तीमा मदिरा निषेध गरेर नानीहरु विद्यालय पढ्न जान थालेपछि वरपरका अन्य जाति समुदायले सकारात्मक चासो देखाएका बस्तीका आम महिलाको भनाइ छ । “नानीहरु स्कूल जान थालेपछि उनीहरुको बोलीचाली नै फेरिएको छ” मुसहर बस्तीकी फुलमा सदाले भनिन्– “स्कूले साथीसंगीको नाताले अरु नानी पनि हाम्रो घरमा बाक्लै आउजाउ गर्न थालेका छन्, उनीहरुको बोलीचालीको राम्रो सिको हाम्रा नानीले टिपेका छन् ।”

समारोहमा रेडियो गौशालाले बस्तीका विद्यालय जाने १०५ जना बालबालिकालाई विद्यालयको औपचारिक पोशाक वितरण गरेको छ । समारोहमा गौशाला नगरपालिकाकी उपप्रमुख आशा लामा र गौशाला १० का वडाध्यक्ष जलिल शेषले अब दलित बस्तीमै विद्यालय भवन बनाउने र पढ्न जाने दलित बालबालिकालाई सबैजसो शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, प्रेस स्वतन्त्रता सेनानी रवीन्द्र उप्रेतिलगायतका पत्रकारले दलित बस्तीको शैक्षिक विकासका लागि निरन्तर सहयोग गर्ने वचन दिए ।
रासस

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ००:००