१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा खानेपानीको अभाव चुलिँदो



१८ वैशाख, अछाम ।
गर्मीयामसँगै अछामका विभिन्न ठाउँमा खानेपानीको अभाव चुलिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट छ ।

सदाबहार पानीको समस्या भइरहने कमलबजार, ठूलासैन बजार, रामारोशन ७ सुतार, मंगलसेन १ कुन्ती बण्डाली, साँफेबगर ७ ककरसाँत लगायत विभिन्न गाउँटोलमा पनि खानेपानीको समस्या भइरहेको स्थानीयले बताएका छन् ।

खानेपानीको अभाव चुलिँदा बजार क्षेत्रका व्यापारी व्यवसायीले गाडीमा र मान्छे लगायत टाढाटाढाबाट पानी ल्याएर उपभोग गरिरहेका छन् भने पानी समस्या भएका गाउँघरमा महिला तथा बालबालिकाको बिहान बेलुका पानी बोक्न मै समय जाने गरेको छ ।

उता रामारोशन गाउँपालिका–७ सुतारको विभिन्न टोलमा दुई महिनादेखि खानेपानीको सास्ती भएको छ । खानेपानी आयोजनाको पाइपलाइनमा अवरोध भएपछि साविकको सुतार गाविस वडा नम्बर २, ४, ६, ७, ८ र ९ का स्थानीयलाई समस्या भइरहेको स्थानीय जगत भण्डारीले बताए ।

नजिकका पानीका मुहान सुक्दै गएको र टाढाबाट ल्याएको खानेपानी आयोजनाको पाइपलाइनमा समेत समस्या आएका कारण स्थानीयलाई खानेपानीको अभाव भइरहेको उनको भनाइ छ । २०७२ सालमा निर्माण भएको थारखोला कालापानी खानेपानी आयोजनाको पाइपलाइनमा समस्या आउँदा करीब २ हजार जनता मारमा परेको स्थानीय चन्द्र भण्डारीले बताए ।

“८३ लाख लागतमा निर्माण भएको खानेपानी आयोजनाले सुतारका ४०० घरधुरीका उपभोक्ता लाभान्वित भएका थिए, अहिले धारामा पानीनै आउन छाडेपछि घण्टौँ हिँडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ ।” भण्डारीले भने ।

केही स्थानीय तहका वडा र विभिन्न बजार क्षेत्रमा पानीको चरम अभावले गर्दा नागरिकको दैनिकी कष्टकर हुनुका साथै महिला तथा बालबालिकालाई सबैभन्दा बढी दुःख भइरहेको कुन्तीबण्डालीका स्थानीय वीरेन्द्र साउदले बताए ।
रासस

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलबार ००:००