१८ वैशाख, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७, दोसल्लेका बासिन्दाले पदमार्ग निर्माण योजनामा लक्ष्यभन्दा बढी परिणामको काम गरेका छन् ।
गाउँपालिकामार्फत सञ्चालित दोसल्लेदेखि रघुगंगा गाउँपालिका १ तिप्ल्याङ बजार जोड्ने पदमार्गमा रेलिङ लगाउने योजनामा उपभोक्ताले सम्झौताभन्दा बढी काम गरेका हुन् ।
५२ वटा पक्की पिल्लर र १०० मिटर रेलिङ बनाउने सम्झौता भएपनि जनसहभागिता जुटाएर त्योभन्दा बढी काम गरेको उपभोक्ता समितिका अध्यक्ष निलप्रसाद पुनले बताए ।
५८ वटा पिल्लर ठडाएर १२० मिटर रेलिङ निर्माण गरिएको हो । गाउँपालिकाको पाँच लाख ४० हजार अनुदान र उपभोक्ताको ७८ हजार २०० बराबरको श्रमदानमा रेलिङ बनाइएको हो ।
पदमार्ग निर्माणका लागि ६३ घरधुरीले एक दिनका दरले श्रमदान गरेका छन् । “उपभोक्ताको श्रमदान जुटाएर तोकिएको गुणस्तरको अनुसार लक्ष्यभन्दा बढी काम गरेका हौँ” अध्यक्ष पुनले भने ।
विकास योजनामा तोकिएको भन्दा कम गुणस्तर र परिणामको काम गरेर बढी मूल्यांकन गराउने, कमिशन खाने बेथिति मौलाइरहेको अवस्थामा दोसल्लेका बासिन्दाले नमूना काम गरेको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताइन् ।
अक्करे भिरको पदमार्गको डिलमा पक्की पिल्लर ठडाएर फलामले बारेको रेलिङ बनाएपछि सुरक्षितरुपमा आवतजावत गर्न पाएका छन् । यसअघि स्थानीय एक व्यक्तिले निजी लगानीमा करीब ५०० मिटर ढुंगाको सिढीसहितको पदमार्ग बनाएका थिए ।
पदमार्गमा रेलिङ निर्माण भएपछि दोसल्लेका बासिन्दा र तिप्ल्याङको कालिका आधारभूत विद्यालयमा अध्ययन गर्न आउने जाने विद्यार्थीलाई सहज भएको छ ।
रासस
प्रतिक्रिया