११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छथर गाउँपालिकामा खानेपानीको चरम अभाव



१७ वैशाख, आठराई– तेह्रथुम ।
गाउँमा भएका खानेपानीका मुहान सुक्न थालेपछि तेह्रथुमको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकामा खानेपानीको चरम अभाव भएको छ ।

जलवायु परिवर्तन र वातावरण प्रभाव मूल्याङ्कन नगरी भएका भौतिक निर्माणका कामले यस क्षेत्रमा खानेपानीका मुहान हराउँदै गएपछि चरम अभाव भएको हो । खानेपानीका लागि यहाँका स्थानीयवासी आधारातमै घण्टौँ लगाएर धारासम्म पुग्ने गरेका छन् ।

खानेपानी समस्याकै कारण यस क्षेत्रमा वर्षेनी बसाइँ सर्ने क्रम बढ्दो छ । सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी खानेपानी जोहो गर्न आधारातमै पानी भर्न धारामा पुग्ने गरेको छथर गाउँपालिका–३ पञ्चकन्याका वडाध्यक्ष तुलसीजङ्ग थापाले बताए । मुहानहरु सुक्दै गएपछि खानेपानी समस्याले वर्षेनी यस क्षेत्रका स्थानीयवासी पिरोलिँदै आएका छन् ।

सुख्खायाम शुरु भएसंगै छथर गाउँपालिका वडा नं ३ र ४ का स्थानीयवासीको समस्या शुरु हुन्छ । बिहानीको उज्यालो नहुँदै स्थानीयवासी पानीको खोजीमा लाग्ने वडाध्यक्ष थापाले बताए । युवा विभिन्न रोजगारीका कारण शहरतिर लागेका छन् ।

गाउँमा युवा नहुँदा उमेर ढल्किसकेका वृद्धवृद्धाको दैनिकी पानी पधेँरोमा बित्ने गरेको छ । साविक पञ्चकन्याको ४ र ५ मा रहेको धारामा पानी भर्न आउने स्थानीयवासीको भीड नै लाग्ने गरेको छ । “घण्टौँ लगाएर धारासम्म आउनुपर्छ ।” स्थानीय भीममाया लिम्बूले भने, पानी थाप्नेको भीडमा प्रतिष्पर्धा नै हुन्छ ।

“बिहानभरि पानीको खोजीमा समय बित्छ, पानी नआउँदा रित्तै गाग्री फर्किनु पर्छ ।” स्थानीय नरबहादुर लिम्बूले भने । “पानीको लागि दुई घण्टाको बाटोमा चहार्दै हिँड्नु पर्ने यहाँको दैनिकी बनेको छ ।” बाटो हिँड्ने बटुवालाई एक गिलास खानेपानी दिने प्रायः कसैको घरमा पानी हुँदैन । करीब ८०० घर रहेको यस क्षेत्रका लागि सञ्चालन भएको खानेपानी आयोजना जीर्ण बन्दै गएका छन् । पानीको मुहान सुकेपछि वर्षेनी समस्या थपिँदै गएको स्थानीयवासी बताउँछन् ।

टोलटोलमा धारा निर्माण भएका छन् । धारामा पानी छ महिना पनि आउँदैन । निर्माण भएका धारामा पानी नखस्दा यहाँका स्थानीयवासी झनै समस्यामा परेका छन् । खेती गर्ने याममा पानी पर्दैन वर्षेनी खाद्यान्न अभावले यी बस्ती थलिने गरेका छन् ।

खानेपानीको समस्यालाई प्रमुख प्राथमिकताका साथ समस्या समाधानका लागि दीर्घकालीन योजना निर्माण गरी तत्कालै समाधानको खोजी भइरहेको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताए । छथरको सुख्खाग्रस्त क्षेत्रलाई दीर्घकालीन रुपमा खानेपानी समस्या समाधानका निम्ति डिप बोरिङ प्रविधिबाट निकालिए पनि अहिले पानी वितरण भएको छैन ।
रासस

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ००:००