२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु



१७ वैशाख, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् ।

गाउँपालिकाको ५ लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम शुरु भएको छ । असी वटा ग्यावियन भरेर पर्खाल लगाई दुई मिटर गहिरो पोखरी बनाउने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका सदस्य हेम गर्बुजाले बताए ।

पोखरी बनाएपछि झरना थप आकर्षक देखिने सदस्य गर्बुजाले बताए । आगामी वर्ष रेलिङ, पार्किङस्थल र प्रतिक्षालय निर्माण गर्ने योजना रहेको छ । झरनादेखि करीब ५० मिटर नजिक रहेको बेनी जोमसोम सडकमा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन् ।

प्रचारप्रसार र पूर्वाधारको कमीले झरना सुनसान अवस्थामा छ । पहाडको फेदीमा करीब १०० मिटर माथिबाट निकै आकर्षक र मनमोहक देखिने महभिर झरना पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको छ । उक्त झरना नजिकै मन्दिर पनि रहेको छ । जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ ।

यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोइङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष गमबहादुर फगामी बताउछन् ।

पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतको रुपमा समेत परिचालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष फगामीको भनाइ छ । झरनाको पर्यटन विकास गर्नसकेमा नजिकै होटल तथा रेष्टुराँ, होमस्टे सञ्चालन गरेर स्थानीयवासीले आम्दानी गर्नसक्ने सम्भावनासमेत छ ।
रासस

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ००:००