१६ वैशाख, नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिका सहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९१६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् ।
नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंकको स्थापना गरेका हुन् ।
लिवर्ड नेपालको सहकार्यमा स्थापना गरिएको उक्त बैंकमा स्थानीय जातका विभिन्न प्रजातिका करीब ९१६ प्रकारका बीउ राखिएको छ । विसं २०६८ मा कोठा भाडामा लिएर स्थापना गरेको बीउ बैंकले २०६९ सालमा स्थानीय तथा नगरपालिकाको सहयोगमा ८ लाख २५ हजारको लागतमा आफ्नै भवन निर्माण गरी स्थानीयवासीलाई सेवा दिँदै आइरहेकाले बीउबिजनका लागि बाहिर जानुपर्ने बाध्यता हटेको स्थानीयवासी हरिजन चौधरीको भनाइ छ ।
पर्याप्त मात्रामा गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन थालेपछि बीउ बैंकको महत्व पनि बढ्दै गएको छ । पहिले बीउ किन्न टाढाटाढा जानुपर्ने बाध्यता रहे पनि बीउ बैंक स्थापनापछि किसानलाई निकै सहज भएको स्थानीय कृषक लक्ष्मी सुवेदी बताउछिन् ।
बैंकले स्थानीयस्तरमा राम्रो प्रभाव पार्दै गएको र बीउ बैंकका लागि आवश्यक बीउ स्थानीयवासीबाटै लिने भएकाले पनि उनीहरूलाई यसबाट थप सहयोग मिलेको बीउ बैंकका अध्यक्ष पार्वती भण्डारी बताउछिन् ।
किसानका लागि आवश्यक पर्ने बीउबिजन यस बैंकले उपलब्ध गराउन थालेपछि यहाँका किसान पनि खुशी भएका छन् । किसानले यस बैंकबाट उपलब्ध बीउको प्रयोग गरेपछि उनीहरुको उत्पादन पनि राम्रो भएको छ ।
अहिले किसानले आफूले उत्पादन गरेको बीउ आफूलाई आवश्यक पर्ने जति राखेर बढी भएको बीउ बैंकमा बेच्न ल्याउने भएकाले स्थानीय जातको बीउको पनि संरक्षण भएको छ ।
गाउँमा नै बीउ अभाव हुन नदिनका लागि शुरु गरिएको यस बैंकले साविक अग्यौली गाउँ विकास समितिका ९ वटै वडासहित नवलपुर जिल्लामा आवश्यक बीउ उपलब्ध गराउँदै आएको छ ।
रासस
प्रतिक्रिया