२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्



१६ वैशाख, तेह्रथुम ।
खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो ।

शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षक शौच गर्न जंगल छिर्छन् ।

शौच गरिसकेपछि सरसफाइ गर्ने पानी नहुँदा जिल्लाका गाउँगाउँमा रहेका विद्यालयका शिक्षक नै शौच गर्न जंगलतिर जानुपर्ने बाध्यता रहेको बताउँछन् । तेह्रथुमका फेदाप, छथर र आठराई गाउँपालिका तथा म्याङलुङ नगरपालिकाका समेत धेरैवटा विद्यालयमा शौचालय त छन्, तर शौचालयको सरसफाइमा प्रयोग हुने पानी नहुँदा प्रयोगमा आउन सकेका छैनन् ।

त्यस्ता विद्यालयका शिक्षक र विद्यार्थी खुलारुपमा नै शौच गर्न बाध्य छन् । गाउँभन्दा टाढा रहेको आफ्नो विद्यालयमा शौचालय सञ्चालनका लागि पानी नहुँदा यस्तै समस्या बेहोरिरहेको फेदाप गाउँपालिका–१ स्थित बालमकर माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताए ।

यो विद्यालय नजिकै गाउँसमेत छैन । पिउने पानीसमेत शिक्षकले घरैबाट बोकेर लैजान्छन् । पानी अभावले विद्यालयमा गम्भीर समस्या निम्तिएको सो विद्यालयका एक शिक्षकले बताए । विद्यालयमा निम्तिएको यस्तो समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण नभएको शिक्षकले गुनासो गरेका छन् । सुख्खा क्षेत्रका धेरै वटा विद्यालयमा यस्तो समस्या छ ।

तेह्रथुम जिल्लालाई गत वर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ । जिल्लाका ९५ प्रतिशत बढी घरधुरीमा चर्पीसमेत बनिसकेको छ । तर अझै पनि सुख्खाग्रस्त गाउँका बासिन्दाले पानी अभावकै कारण चर्पी प्रयोग गर्न नपाएको दुखेसो पोख्छन् ।
रासस

प्रकाशित मिति : १६ बैशाख २०७५, आइतबार ००:००