१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय भर्ना नभएका बालबालिका खोज्न नगर प्रमुख घरदैलोमा



१५ वैशाख, कञ्चनपुर ।
विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थालेका छन् । विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उनले शिक्षाको महत्वबारे सम्झाउँदै हिडेका हुन् ।

शिक्षाबाटै देशलाई परिवर्तन गर्न सकिन्छ, अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले विद्यालय पठाउन कन्जुस्यार्इं नगर्नुस् नगरप्रमुख ऐरले नगरपालिकाको वडा नं ९ सिसैयामा पुगेर अभिभावकका घरमा पुगेर भने, “एक छाक खाएर भए पनि बालबालिकालाई विद्यालयमा भर्ना गराउनोस् ।”

“सामुदायिक विद्यालयमार्फत निःशुल्क पाठ्यपुस्तक मिल्छ, कुनै शुल्क तिर्नु पर्दैन, गरीब र जेहनदारका लागि झोला, अभ्यास पुस्तिका र पोशाकका लागि छात्रवृत्ति मिल्छ, तपाईंहरुका बालबालिकालाई पढाउने दृढ इच्छाशक्तिको खाँचो छ” उनले भने ।

घरदैलोमा पुगेका नगरप्रमुखको कुरा सुनेपछि अभिभावक बन्धु चौधरीले भने, “यो सबै कुरा थाहा थिएन, बालबालिकालाई विद्यालय पठाउन कन्जुस्यार्इं गर्दैनौँ, ढुक्क भए हुन्छ ।” नगर प्रमुख ऐर वडा नं ४, ६, ९ र ११ वडाका अभिभावकको घरदैलोमा पुगेका छन् । नगर प्रमुख ऐर, वडाध्यक्ष, वडा सदस्य र शिक्षकसंगै चेतनामूलक कार्यक्रममा व्यस्त भएका छन् ।

दिनको दुई घण्टा उनले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिका खोजेर विद्यालयमा ल्याउनका लागि आफैँ घरदैलोमा पुग्ने कार्यलाई निरन्तरता दिँदै आएको वडा नं ९ का वडाध्यक्ष रमेश ऐरले बताए ।

“नगर प्रमुख आफैँ घरदैलोमा पुग्न थालेपछि बालबालिकालाई आफूसंगै मजदूरीमा लैजाने अभिभावक प्रतिबद्धता जाहेर गर्दै बालबालिकालाई विद्यालय भर्ना गराउन थालेका छन्”, वडाध्यक्ष ऐरले भने । नगर प्रमुख आफैँ घरदैलोमा पुगेर चेतना छर्न थालेपछि निजी विद्यालयमा पढाउँदै आएका अभिभावकले समेत बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।

जनचेतनामूलक कार्यक्रम गरिएपछि राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा मात्रै १६ जनाभन्दा बढी निजी विद्यालयमा पढ्दै आएका बालबालिका भर्ना भएका छन् ।
रासस

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार ००:००