२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरी पारुहाङ चोकमा आगलागी, समयमा दमकल नपुग्दा ठूलो क्षति

लेखक स्थानीय खबर १५ बैशाख २०७५, शनिबार २ मिनेट पढाइ

१५ वैशाख, इटहरी ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा १ करोड नोक्सानी भएको छ ।

समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएको स्थितिमा एकाएक विद्युत् चुहिएर आगो सल्किएको थियो । ती पसल घरमा भएका कम्तीमा ११ खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्कँदा आगोले विशाल रुप लिएको स्थानीयवासीले बताएका छन् ।

आगलागी भएर तत्काल करीब ५०० मिटर पर रहेको उपमहानगरपालिकाको दमकल बोलाउँदा नआएको तथा १८ किमी पश्चिममा रहेको इनरुवा नगरपालिकाको दमकल आएपछि मात्र इटहरीको दमकल आएकाले पनि बढी नोक्सानी हुन पुगेको आगलागीपीडित पदम अधिकारीले जानकारी दिए ।

आगो लागेर अधिकारी, बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको पसल घर पूर्णरुपमा खरानी हुँदा ती पसल घरमा रहेका फ्रिज, सुनचाँदी, लत्तापकडा, खाद्यान्न, भाँडाबर्तन लगायत सम्पूर्ण उपभोग्य वस्तुसमेत नष्ट हुँदा ती ती परिवारको बिचल्ली हुन पुगेको छ ।

उक्त आगलागीमा चार पसल घरसँगै पूर्वपट्टि लालधन राईको चारतले पक्की घर र पश्चिमपट्टि मोहनसिंह तामाङको चारतले पक्की घरमा पनि नोक्सानी पुगेको छ । पीडितमध्ये लालधनको चार लाख बढीको नोक्सानी भएको छ ।

सो आगलागीमा अधिकारीको सबैभन्दा बढी करीब ४५ लाख नोक्सानी भएको बताइएको छ । नजिकैको दमकल नआइदिएकाले आफूहरुले ठूलो नोक्सानीसंगै घरबास नै उठिबास हुन पुगेको पीडित अधिकारीले गुनासो गरे । अधिकारीसंगै अरुको पनि सम्पत्ति नष्ट भएका छन् ।

त्यहाँ लागेको आगो प्रहरी, स्थानीयवासी र इनरुवापछि आएको इटहरीको दमकलको सहयोगले नियन्त्रणमा लिएको बताइएको छ । समयमा नै आगो नियन्त्रण भएकाले बजार क्षेत्रमा अरु सम्भावित ठूलो जनधनको नोक्सानी हुनबाट जोगिएको स्थानीयवासीको भनाइ छ ।
रासस

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।