Logo

शिवपुरी र पञ्चकन्या गाउँपालिकामा असिना, लाखौँको क्षति



१५ वैशाख, त्रिशूली– नुवाकोट ।
हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकाका विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।

डा गैरेका अनुसार तरकारी बालीमा घिरौँला, गोलभेडा, काँक्रो, करेला लगायत र फलफूलमा समेत क्षति पुगेको छ । “क्षतिको विवरण संकलन गर्न कर्मचारीहरु खटिएका छन् । वडा कार्यालय, गाउँपालिकाको कार्यालय नै क्षतिको विवरण संकलन गर्न लागेका छन्” डा गैरेले भने, “केही दिनमा क्षतिको विवरण आउने छ ।”

खेतमा लगाइएको मकै भर्खर चमरा निस्कने बेला र गोलभेंडा, करेला, काँक्रो लगायत तरकारी भर्खर टिप्ने बेलामा परेको असिनाले किसान मारमा परेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्