१२ वैशाख, काठमाडौं ।
नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये तीन हजार २७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विभिन्न देशका रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिकार्य कार्यक्रममार्फत निजी आवास, खानेपानी र सरसफाइ, आयआर्जन जीविकोपार्जन र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको छ ।
“वर्षात्को समयअघि नै हामीले जिम्मा लिएका निजी आवास निर्माण कार्य सम्पन्न गर्छाैं” पत्रकार सम्मेलनमा रेडक्रसका अध्यक्ष सञ्जीव थापाले भने । ती आवास निर्माणका लागि सरकारको निर्णयअनुसार १ अर्ब २९ करोड अनुदान सहयोग उपलब्ध गराइसकिएको छ ।
सुरक्षित आवास निर्माण गर्न करीब ६ हजार भूकम्पपीडितलाई कालिगढ/सिकर्मी तालीम र करीब ७० हजारलाई चेतनामूलक सन्देश प्रवाह गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अर्कातर्फ ३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिसकिएको र ७ वटा विद्यालयको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पत्रकार सम्मेलनमा भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालले भूकम्प अति प्रभावित जिल्लामा स्वास्थ्य संस्था पुनःनिर्माणअन्तर्गत धुन्चेस्थित रसुवा जिल्ला अस्पताल तथा स्वास्थ्यकर्मी आवासगृह पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको जानकारी दिए ।
यसैगरी, ९ वटा स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँकी ९ वटाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार सेवासम्बन्धी अभिमुखीकरणका साथै स्वास्थ्य संस्थालाई आवश्यक उपकरण पनि सहयोग गरेको संयोजक ढकालले जानकारी दिए ।
खानेपानी योजनाको हस्तान्तरण जारी
भूकम्पले क्षति पु¥याएका खानेपानी संरचनामध्ये हालसम्म १४७ योजना सम्पन्न भएका र ती योजनासंगै करीब ६ हजार चर्पी निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग गरिएको संयोजक ढकालले जानकारी दिए । “खानेपानी योजना सम्पन्न हुँदा भूकम्पपीडितलाई आवास निर्माण, खेतीपाती र पशुपालनमा सहयोग पुगेको छ,” उनले भने ।
भूकम्पपछिका मानवीय सेवाका गतिविधिबारे जानकारी गराउँदै ढकालले भूकम्प अति प्रभावित क्षेत्रका २५ हजार ९०१ परिवारलाई जीविकोपार्जनमा सघाउन नगद सहयोग गरिएको बताए ।
रासस
प्रतिक्रिया