४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम पारित



१० वैशाख, सुर्खेत ।
कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आव २०७४/०७५ को नीति तथा कार्यक्रम आज पारित गरिएको छ । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १८४ एवं कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ बमोजिम प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको बाह्रौं बैठकले सर्वसम्मत पारित गरेको हो ।

नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत्, जडिबुटी, कृषि, यातायात, शिक्षा, वन, खनिज पदार्थ र सामाजिक सुरक्षा तथा न्यायलाई बढी जोड दिँदै प्रदेशको समृद्धि, विकास र परिवर्तनका लागि विशेष खालका नारा अघि सारेको छ ।

प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादोन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्य प्रदेशले लिएको छ । प्रदेशको समग्र विकास र समृद्धिको गुरूयोजना बनाउन प्रदेश सरकारले विज्ञहरूको टोली बनाउने छ ।

‘एक पालिका एक घरेलु उद्ध्योग’को नीतिअनुसार स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिनेछ । पेट्रोलियम पदार्थको अध्ययन, अन्वेषण र अनुसन्धान गरी उपयोगका लागि आवश्यक योजना बनाउने नीति पनि प्रदेश सरकारले लिएको छ ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति तथा कार्यक्रम परम्परागत भएको बताउँदै कर्णालीको माटो र नागरिक सुहाउँदो नीति कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । प्रदेश सरकारका प्रवक्ता विमला केसीले नीति तथा कार्यक्रममा टेकेर तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालिन योजना निर्माण गरिने बताए ।

प्रदेशसभा सदस्य गुलाबजंग शाहले राखेको धन्यवाद ज्ञापनको प्रस्तावमाथि प्रदेशसभा सदस्यद्वय यज्ञबहादुर बिसी र धर्मराज रेग्मीले समर्थन गरेका थिए । अर्को बैठक मंगलबार अपराह्न १ बजे बस्नेछ ।
रासस

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ००:००