१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणी नदी सफाइ अभियान दशौँ हप्तामा



१० वैशाख, चितवन ।
स्थानीय युवाको सक्रियतामा फागुन ७ गतेबाट शुरु भएको नारायणी नदी सफाइ अभियान दशौँ हप्तामा आइपुगेको छ । यो अवधिमा यस क्षेत्रका प्रदेश सांसद, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल हुँदै नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठसहित नेता तथा कार्यकर्ता पनि सफाइ अभियानमा जुटेका छन् ।

सफाइका क्रममा श्रेष्ठले चितवनको प्रमुख शहर नारायगढ र संगै बग्ने नारायणी नदी जिल्लाको सौन्दर्य भएको भन्दै यसलाई बचाई राख्नुपर्ने बताए । उनले नदी सुन्दर बनाएर रमणीय स्थलका रुपमा विकास गर्न यो अभियान सार्थक हुने बताए ।

अभियानमा सहभागी कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेले नारायणगढ बचाउनका लागि पनि नारायणी नदी आसपास सुन्दर बनाउनुपर्ने बताए । जिल्लाकै मुख्य बजारसँग जोडिएको ऐतिहासिक महत्व रहेको यस क्षेत्र संरक्षणका लागि सबैको हातेमालो अपरिहार्य भएको उनले बताए ।

अभियानमा लाग्नु भएकामध्ये एक स्थानीय युवानेता रामकुमार श्रेष्ठले सरसफाइ अभियानमा सबैको सहभागिताले युवामा उत्साह थपिएको बताए । स्वतःस्फूर्त स्थानीयवासीसहित सामाजिक कार्यमा सक्रिय वेय ग्रुप, लायन्स र लियो क्लब, उमाशंकर ट्रस्टलगायत सफाइ अभियानमा जुटेका छन् ।

उमाशंकर ट्रष्टका महासचिव चन्दन अग्रवालले शुरुको दिनमा २ ट्र्याक्टर फोहोर संकलन भएको भन्दै त्यसपछिका हरेक सोमबारमा १ ट्र्याक्टर फोहोर संकलन हुँदै आएको बताए । संकलित फोहोर भरतपुर महानगरपालिकाको ट्र्याक्टरले डम्पिङ साईडमा पु¥याउने गर्दछ ।

हरेक सोमबार नारायणगढ बजार बन्द रहने गर्दछ । सोही दिन बिहान ७ देखि ९ बजेसम्म नारायणी नदी सफाइ अभियान सञ्चालन गरिएको छ । देवघाटमा मानिस जलाउँदा बचेका दाउरा, फालिएका कपडा, कोइलासंगै भरतपुरका विभिन्न क्षेत्रबाट जम्मा भएको ढलको फोहोर पनि नारायणी नदीमा सिधै मिसाइँदै आएको छ ।

नारायणी नदी आसपासका क्षेत्र पर्ने भरतपुर महानगर–१ का वडाध्यक्ष जयराम श्रेष्ठले नारायणगढको गौरीश्वर मन्दिरदेखि नारायणीको पुलसम्म ८ ठाउँमा सोझै ढल नारायणीमा मिसिएको बताए । ४ ठाउँमा छुट्दै प्रशोधन गरेर पानी नारायणीमा फाल्ने गरिएको भए पनि ती ढलमा नमिसाई ८ ठाउँबाट भने सोझै नदीमा ढल मिसाएकाले नदी थप प्रदूषित बनेको बताए ।
रासस

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ००:००