१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक विभागको लापरबाहीः ५ वर्षदेखि पुल निर्माण अलपत्र



८ वैशाख, जाजरकोट ।
भेरी करिडोरभित्र पर्ने छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो । उक्त सडक कालोपत्रे भएको पनि ५ वर्ष बितेको छ । तर सडकको पासागाड खोलामा पुल निर्माण हुनसकेको छैन । सडक विभागको लापरबाहीले पुल निर्माण ५ वर्षदेखि अलपत्र परेको हो ।

पासागाड खोलामा पुल नबन्दा बर्खामा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ । बर्खा लाग्ने वित्तिकै खोलाको बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती हुने गरेको हो ।

सडक विभाग र आइएमई आरसी कन्सलटेन्सी ललितपुरको चरम लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको हो । दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम शुरुसमेत नभएको स्थानीय कालीबहादुर पुनले बताए  ।

परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणको कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताए । पुल निर्माणका लागि ५ वर्षअघि विभागको सूचना बमोजिम ३ करोडमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत भएको थियो ।

तर निर्माण स्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको पौडेलले बताए । ‘पुल निर्माण स्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य शुरु गर्न नसकेको हो,’ पौडेलले भने ।

पुलको रिडिजाइन भएर लागत यकिन नभएसम्म निर्माण कार्य अघि नबढ्ने उनले बताए ।
रासस

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ००:००