Logo

संखुवासभामा ब्लड बैंक नहुँदा समस्या



७ वैशाख, संखुवासभा ।
पूर्वी पहाडी जिल्ला संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ ।

जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानु पर्ने बाध्यता छ । आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ ।

जिल्लामा नेपाल रेडक्रस सोसाइटीले २०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भएपनि यहाँ ब्लड गु्रप छुट्याउने काम मात्र हुने गरेको छ । गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ ।

गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन् । बिरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भएकाले रक्तसञ्चार भवन र आधुनिक उपकरणका लागि तीन वर्षअघि नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय कार्यालयमार्फत अनुरोधपत्र पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको रेडक्रस सोसाइटी संखुवासभाका अध्यक्ष सरोजकुमार बज्राचार्यले बताए ।

आधुनिक उपकरण र ब्लड बैंक नभएपछि ब्लड संकलन गरेर राख्न नसकेको अध्याक्ष बज्राचार्यले बताए । ब्लड बैंक स्थापनाका लागि जिल्लाका सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने अध्यक्ष बज्राचार्यको भनाइ छ ।

शिविर सम्पन्न

यसैबीच, पाँचखपन नगरपालिकाको आयोजनामा वाना मावि वानामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नोबेल अस्पताल विराटनगरका विषेशज्ञ डाक्टरको प्राविधिक सहयोगमा गत बुधबार दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरबाट जनरल मेडिसिन, आँखा, नाक, कान घाँटी, स्त्रीरोग, बालरोग, छाला, हाँड जोड्नी, दन्त सेवा, नशासम्बन्धी स्वास्थ्य सेवा दिइएको थियो । त्यस्तै, एक्सरे, भिडियो एक्सरे र ल्याब सेवा पनि सिविरबाट उपलब्ध गराइएको थियो ।

शिविरबाट एक हजार १८९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणपछि निःशुल्करुपमा औषधि वितरण गरिएको पाँचखपन नगरपालिकाका स्वास्थ्य कार्यक्रम संयोजक घनेन्द्र पौडेलीले जानकारी दिए । शिविरबाट १५ जना बिरामीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको समेत पौडेलीले जानकारी दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्