१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिप बोरिङबाट सुख्खा डाँडामा पनि खानेपानी



५ वैशाख, चौतारा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ । वडा कार्यालयको ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो ।

समुद्री सतहबाट करीब १ हजार ४०० मिटर उचाइमा रहेको सुख्खा डाँडाबाट स्वच्छ पानी निस्किएपछि सो वडाका ४४२ घर परिवारलाई खानेपानीमा सहयोग पुगेको वडाध्यक्ष धु्रवराज गिरीले बताए । २०७२ सालको विनाशकारी भूकम्पले जिल्लाका धेरै ठाउँमा पानीको स्रोत सुकेको छ । त्यसैगरी सो वडामा पनि पानीको स्रोतमा कमी आएपछि वडावासीलाई समस्या पर्दै आएको थियो ।

कुन उपायबाट थप पानी उपलब्ध गराउन सकिन्छ भन्ने चिन्ताले वडावासीलाई सताउन थालेको थियो । त्यसै सन्दर्भमा साविक साँगाचोक गाविसका उपाध्यक्षसमेत रहेका वडाध्यक्ष गिरीले पानी निकाल्ने प्रविधिको खोजीमा झण्डै डेढ वर्षको समय खर्चिएका थिए ।

जहाँ इच्छा, त्यहाँ उपाय भन्ने कहावत अनुसार राजधानीको एउटा कम्पनीमा आफ्नो समस्या सुनाएपछि वहाँको डेढ वर्षको परिश्रमले साकार रुप लिएको छ । वसुन्धरा रानीरोडस्थित डिकेएच रक ड्रिलिङ कम्पनी लिमिटेडले काम थालनी गरेको करीब एक महिनाको अवधिमा सफलता पाएपछि आफ्ना लागि ज्यादै खुशीको क्षण भएको गिरीले बताए ।

त्यहाँबाट निस्किएको पानी हाललाई स्थानीयले प्रयोग गर्दै आएको चुलीथुम्की खानेपानी आयोजनाको ट्याङ्कीमा मिसाइने कार्यक्रम रहेको छ । “पानी त निकालियो, तर ट्याङ्की सानो छ” वडाध्यक्ष गिरीले दुखेसो प्रकट गरे, “बजेटको अभावमा अर्को ट्याङ्की र पाइप खरिद गर्न भने सकिएको छैन ।”

प्राविधिका कारण यहाँको सुख्खा डाँडामा पनि पानी निकाल्न सफल भएपछि खानेपानीको अभावमा देशका कतिपय बासिन्दाले बसाइँ सर्नु नपर्ने पाठ भने अवश्य सिकाएको छ ।
रासस

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ००:००