१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नमूना बस्ती बन्दै सोझे



सुशील दर्नाल
१ वैशाख, काठमाडौं ।
शंखरापुर ३ सोझेका ७१ वर्षीय धनबहादुर वाइवा आफ्नो भूकम्पप्रतिरोधी नयाँ घर निर्माण हुँदै गर्दा दंग छन् । विसं २०७२ को भूकम्पका कारण बस्नै नमिल्ने गरी घर भत्किएपछि छाप्रामा गुजारा चलाउँदै आएका धनबहादुरलाई लुमन्ती आवासका लागि सहयोग समूहको प्राविधिक सहयोग र स्थानीयवासीको श्रमदानबाट दुई कोठाको घर निर्माण शुरु गर्दै गर्दा खुशीको अनुभूति भएको छ ।

करीब १६ वर्ष पहिले श्रीमती गुमाउनु पर्दाको पीडा सुनाउँदै धनबहादुरले भने, “दुई बहिनी छोरी थिए, तिनको पनि विवाह भयो, अहिले एक्लै पकाउने खाने गर्छु, भएको घर पनि भूकम्पले लडायो, नयाँ घर बनाइदिने भनेर जग शुरु गरेका छन्, खुशी लागेको छ ।”

धनबहादुरको घर निर्माणमा प्राविधिक सहयोग गर्नुका साथै लुमन्तीले आवास कार्यक्रम अन्तर्गत ‘विल्ड अप नेपाल’को प्राविधिक साझेदारी सोझेका बासिन्दालाई कम्प्रेस्ड स्टेबलाइज्ड अर्थ ब्रिक उत्पादन तथा भवन निर्माण तालीम दिई कम्प्रेस्ड स्टेबलाइजड अर्थ ब्रिक उत्पादन गरी भूकम्प प्रतिरोधात्मक नमूना सामुदायिक भवन निर्माण गर्दैछ ।

सो भवन निर्माणको कूल लागत करीब १२ लाख ३६ हजार हुनेछ । धनबहादुर मात्र होइन, सोझेकै प्रेमबहादुर वाइवा पनि घरमै पानीको धारा पाउँदा खुशी छन् । भूकम्पका कारण खोनपानीको संरचनामा क्षति पुगेपछि लुमन्तीले पाइप लाइन विस्तार तथा इन्टेक मर्मतसँगै धारा निर्माण गरी घरमै पानीको व्यवस्था गरेपछि प्रेमबहादुर घरबाट टाढा पानी लिन जानुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

खानेपानीको संरचनामा क्षति पुगी पानीको अभाव भएर जीवन कष्टकर भएपछि लुमन्तीले २६ घरमा ‘एक घर एक धारा’ निर्माण गरेर सहयोग गरेको छ । लुमन्तीको २ लाख ४८ हजार, सोझे स्वास्थ्य समुदायबाट ६० हजार र आवश्यकतानुसार जनश्रमदानसंगै करीब ३ लाख ४८ हजारमा सो धारा बनेको हो ।

लुमन्तीको प्राविधिक सहयोगमा सोझेमा नमूना बस्ती बनाउने उद्देश्यले अब २६ भूकम्प प्रतिरोधी (दुई वटा डिजाइनका) घर निर्माण गर्ने तयारी भइरहेको लुमन्तीका विपत् जोखिम न्यूनीकरण कार्यक्रम व्यवस्थापक सोविना लामाले जानकारी दिए ।

सोझेलाई स्वास्थ्य समुदाय बनाउने उद्देश्यले सोझे स्वास्थ्य समुदाय व्यवस्थापन समिति समेत गठन गरिएको छ । चार र दुई कोठे घर निर्माण गर्ने उद्देश्यअनुसार पहिलो चरणमा १६ वटा घर निर्माण गरिनेछ । भूकम्पपीडितको घर निर्माणका लागि सरकारले पहिलो किस्ताबापत ५० हजार दिइसकेको छ ।

पुनःनिर्माण प्राधिकरण र नगरपालिकाले एकमुष्टरुपमा किस्ता रकम दिएको खण्डमा घर निर्माण गर्न सहज हुने प्रेमबहादुरको अपेक्षा छ । तर शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले नगरपालिकाले किस्ता रकम दिनेभन्दा पनि पहिलो तल्लासम्मको कर छुट र नक्सा पासमा लाग्ने दस्तुर रकमसम्म छुट गर्न सकिने बताए ।

आवास कार्यक्रम अन्तर्गत लुमन्तीको १२ लाख आर्थिक सहयोगमा शंखरापुर नगरपालिकाको वडा नं २, देउराली भञ्ज्याङ मा भूकम्प प्रतिरोधात्मक नमूना वडा भवन निर्माण भइरहेको छ । त्यसैगरी लुमन्तीले शंखरा नगरपालिकाका झुललगायत अन्य स्थानमा समेत भवन निर्माण र खानेपानीसम्बन्धी काम गर्दै आएको छ ।

सन् १९९३ मा स्थापित लुमन्ती आवासका लागि सहयोग समूहले स्थापनाकालदेखि नै नेपालका पिछडिएका वर्ग, खासगरी शहरी क्षेत्रमा केन्द्रित गरीब समुदायका लागि व्यवस्थित बसोबास, स्वच्छ खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, लघुवित्त, विपद् जोखिम न्यूनीकरण, सामाजिक सशक्तीकरणका विषयमा केन्द्रित गरी १८ नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यकाका टोखा, साँखु, चन्द्रगिरि, कीर्तिपुर, नागार्जुन, बूढानीलकण्ठ गोकर्णेश्वर, दक्षिणकाली लगायत नगरपालिकामा भूकम्पपछिको अवस्था लेखाजोखा भइसकेको छ ।
रासस

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार ००:००