१४ मंसिर २०८२, शनिबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती



२७ चैत, रत्ननगर– चितवन ।
चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन ।

अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टौ जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताए । “सडक निर्माण भएको स्थानमा समस्या छैन, नेपालले भने, पुलको मुखमा दुई वटा गाडी नछिर्दा हिजो आज पनि घण्टौ जामको पीडा छ ।”

सडक र पुलसंगसंगै नबनाउँनाले समस्या परेको उनी बताउछन् । नारायणगढ मुग्लिन सडकको करीब ३४ किलोमिटर क्षेत्रमा सडक चौडा पार्ने काम अहिले जारी छ । उक्त सडकमा १८ वटा पुल पर्छन् ।

त्यसमध्ये साना लगानीको खानीपुल, मौरीपुल, दासढुंगापुल र जलवीरे पुल नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले नै बनाउन थालेको छ । बाँकी १४ स्थानमा पुल निर्माण हुन सकेको छैन । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल अप्ठेरा पुल निर्माण हुन नसक्दा सडक जामको समस्या भने रहेको प्रतिक्रिया दिन्छन् ।

“बाटो ११ मिटरको छ, पुल साढे ५ मिटरको छ, खनालले भने, त्यस्ता पुलमा दुईवटा गाडी जानै मान्दैनन् ।” मुख्यगरी मुग्लिनदेखि जलविरेसम्मको ७ किलोमिटर अझै सास्ती छ । सडक निर्माणको काम पनि सो क्षेत्रमा बाँकी नै छ ।

मुग्लिनबाट आउँदाको ४ वटा पुल साँघुरा छन् । त्यसमध्ये ३ नम्बर पुल भने अति जोखिमपूर्ण र साँघुरो छ । त्यही पुलमा बढी जाम हुँदा ३–४ किलोमिटर परसम्मै गाडी रोकिन्छन् । सबै पुल निर्माण नहुँदासम्म भने यात्रुले सास्ती पाउने पक्का छ ।

एक त साँघुरो पुलले जाम पर्नुपर्ने र अर्को माथिबाट खस्ने पहिरोको उत्तिकै जोखिम हुँदा यात्रु दोहोरो जोखिममा परेको एकजना यात्रु सूर्य अधिकारी बताउछन् ।

नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सडक निर्माणको काम भने करीब ८८ प्रतिशत सम्पन्न भएको छ । करीब ३४ किलोमिटरमध्ये २८।२ किलोमिटर कालोपत्रे भइसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनाल बताउछन् । उनले आगामी वैशाख १५ सम्ममा सबै सक्ने गरी काम भइरहेको बताए ।
रासस

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार ००:००