१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्यूटावर



२६ चैत, धनकुटा ।
धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्यूटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

भ्यूटावरबाट विश्वको उच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंगा, मनास्लु लगायत हिमाल अवलोकन गर्न सकिन्छ । जेफालेबाट सूर्योदयको दृश्यावलोकन गर्न पर्यटक बढी मात्रामा आउने गरेका स्थानीयवासी हर्क चेम्जोङले बताए ।

धार्मिक पर्यटक आर्कषण गर्न ताप्लेजुङ पाथीभरा मन्दिरको त्रिशूल, घण्टी, माटो, अक्षेता र भेटी ल्याएर यहाँ पाथीभरा देवीको मन्दिर स्थापना गरिएको छ । जेफाले भ्यूटावर नजिक शिवालय मन्दिर, हावाचौरी, देउराली भञ्ज्याङलगायत ठाउँमा घुमफिर गर्न पर्यटक आकर्षित हुने गरेका छन् ।

सो क्षेत्रमा राई, लिम्बू, मगर, तामाङ लगायत जातिको बसोबास रहेको छ । पर्यटकको आगमन बढेको भन्दै सहज बसाइका लागि होमस्टे सञ्चालन गरेको स्थानीयवासी भीमकुमारी अधिकारीले बताइन् ।

होमस्टेमा आउने पाहुनालाई साँझमा स्थानीय संस्कृतिअनुसार हुर्रा नाच, धान नाच र च्याब्रुङ नाचमा सहभागी गराएर मनोरञ्जन गरिन्छ । ५ वटा सामुदायिक होमस्टे सेवा दर्ता भई सञ्चालनमा रहेको होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीले बताए ।

होमस्टेमा आएका पाहुनालाई कोदो, मकै, फापर र सिस्नोको परिकार खुवाइन्छ । समुद्र सतहबाट करीब १ हजार ९७० मिटरको उचाइमा रहेको जेफाले डाँडामा निर्माण गरिएका ९७५ वटा खुटकिला चढेर भ्यूटावरमा पुग्न सकिन्छ । यहाँबाट पूर्व र मध्य क्षेत्रका करिब २० वटा जिल्लाको अवलोकन गर्न सकिन्छ ।

भ्यूटावर निर्माण २०६५ सालमा गरिएको हो । तत्कालिन मोरङ जिल्ला विकास समितिले ४० लाखको लागतमा भ्यूटावर निर्माण गरेको हो ।
रासस

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ००:००